राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

सीमामा भारतीयको बलमिचाइँः भारतीयले नेपाली भूमि प्रयोग गर्दै

बिहिवार, १९ चैत्र २०७७ ७:४४

काठमाडौं । वारिपारि खेत छन्, खोलानाला र बाटो मात्रै होइन कतिपय ठाउँ दशगजामै मान्छेले बसोबास गरेको झुप्रा पनि छन्। नेपाल–भारत सीमाका धेरै ठाउँमा दशगजा कहाँ छ भनेर पत्ता लगाउन नै गाह्रो पर्ने अवस्था छ । प्रदेश २ का आठवटै जिल्ला भारतसँग सीमा जोडिएका छन् ।

सशस्त्र प्रहरीले गरेको सर्वेक्षणका अनुसार प्रदेश २ का विभिन्न जिल्लाका ५ सय ४९ स्थानमा भारतीयले नेपाली भूमिमा बलमिचाइँ गरेका छन्। सप्तरीमा ११, सिरहा २९, धनुषा ३९, महोत्तरी २५, सर्लाही १ सय २, रौतहट ६, बारा ११ र पर्साको ३ सय २६ स्थानमा भारतीयले नेपाली भूमि प्रयोग गरिरहेका छन् ।

सर्लाहीको मलंगवा–५ भाँड्सरका ६५ वर्षीय समसुल हक भन्छन्, ‘म बालक छँदा घर अगाडि दशगजामा पिलर थियो। अहिले त्यो पिलर छैन । त्यो ठाउँमा पारिका मान्छेले लगाएको लहलहाउँदो गहुँ छ ।’ पुरानो पिलर ओझेलमा पाररे नयाँ राखिएपछि भारतीयले नेपालतर्फको जमिन अतिक्रमण गरेको उनी बताउँछन् ।

भाँड्सर नेपाल–भारत दशगजा नजिकको गाउँ हो। २०४२ सालमा दुई देशका नापजाँच गर्ने टोली आएर नयाँ पिलर नेपालतर्फ गाडिदिएको हकको दाबी छ । भारतीय पक्षले नेपालतर्फ नयाँ पिलर गाड्दा नेपाली टोलीले प्रतिवादसमेत नगरेको उनले बताए । ‘हामी बोलेका हौं तर हामीले बोलेको कसैले सुन्दैन,’ उनले भने, ‘हामी सीमामा बस्नेलाई पारिबाट हेपेको अनुभव हुन्छ ।’
यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

थप जानकारी