राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

राजसंस्थालाई पनि स्थान दिएर मुलुकमा राष्ट्रिय एकता कायम गरौं: सांसद राजेन्द्र लिङ्देन

सोमवार, २३ चैत्र २०७७ २३:२८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले राजसंस्थालाई पनि स्थान दिएर मुलुकमा राष्ट्रिय एकता कायम गर्नुपर्ने बताएका छन् । वर्तमान शासन प्रणाली नै विफल भएको भन्दै राजसंस्था आवश्यक भएको बताएका हुन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सांसद लिङ्देनले भने, ‘‘वर्तमान सरकारसँग धेरै कुरामा विमति, असहमति भए पनि गत वर्ष विखण्डनको कुरा गर्ने सिके राउत र यो वर्ष विप्लव समूहको नेकपालाई सरकारले मुल प्रवाहमा ल्याएको छ,’ उनले भने, ‘साँच्चै नै राष्ट्रिय एकता गर्ने हो भने यतिले मात्र पुग्दैन, सिके राउत र नेत्रविक्रम चन्दलाई मात्र होइन, अनेक लाञ्छना र अभियोगका बाबजुद पनि शान्त र सौम्य रहेको नेपालको राजसंस्थालाई पनि स्थान दिएर मुलुकमा राष्ट्रिय एकता कायम गर्न म सबै राजनीतिक दलहरूलाई आग्रह गर्छु ।’

अहिलेकै व्यवस्था, अहिलेकै अवस्थामा सरकार परिवर्तन वा नयाँ निर्वाचन, जुन बाटो अवलम्बन गरे पनि यो अस्थिरता अन्त्य गर्न नसकिने सांसद लिङ्देनले बताए ।

मुलुकले अहिलेको अस्थिरताबाट शिक्षा लिएर नयाँ सम्झौता गर्नुपर्ने बेला आएको लिङ्देनले बताए ।
देशलाई विकास र समृद्धिमा लैजाने हो भने नयाँ सम्झौता गर्न जरुरी रहेको उनले बताए । उनले पाखा लगाइएको शक्ति ‘राजसंस्था’लाई पनि स्थान दिएर जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने सुझाव दिए । उनले भने, ‘सांसदले मन्त्री हुन नपाउने व्यवस्था मिलाऔँ । सबै संवैधानिक अङ्गमा योग्यता, क्षमताका आधारमा नियुक्त हुने पारदर्शी व्यवस्था अपनाऔं ।’

थप जानकारी