राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

नवनियुक्त चार मन्त्रीद्वारा शपथ ग्रहण

शुक्रवार, २७ चैत्र २०७७ १८:४९

काठमाडौं, चैत्र २७ । प्रधानमन्त्रीकाे शिफारिसमा आज नियुक्त हुनुभएका चार मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गाेपनीयताको शपथ ग्रहण लिनुभएको छ । शपथ लिनुहुने मन्त्रीहरूमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी हुनुहुन्छ । उहाँहरूले साविकै मन्त्रालयकाे जिम्मेवारी पाउनुभएकाे छ । सो कुराको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ ।

यस अघि नेकपा माओवादी केन्द्रले सांसद पदबाट हटाएपछि उहाँहरू मन्त्री पदबाट मुक्त हुनुभएकाे थियाे । एमाले केन्द्रीय सदस्यमा मनोनीत हुनुभएका उहाँहरुलाई माओवादी केन्द्रले दलबाट निष्कासनको कारबाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निष्कासन गरेपछि सांसदबाट पदमुक्त हुने व्यवस्था छ ।

माओवादी केन्द्रले कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठकलाई जानकारी गराएपछि चारैजना मन्त्रीको सांसद पद खारेज भएको थियो । बिहीबार सांसदबाट पदमुक्त हुनुभएका उहाँहरुलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्तिका लागि सिफारिस गर्नुभएको हो । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।

थप जानकारी