राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

आज पनि भिटामिन ‘ए’ खुवाइँदै

मङ्गलवार, ७ बैशाख २०७८ १२:२८

काठमाडौँ, वैशाख ७ गते । सरकारले आज पनि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतकाे पोषण शाखाका प्रमुख केदार पराजुलीले सोमबार खुवाउन छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि ‘अल्वेण्डाजोल’ खुवाउन थालिएको जानकारी दिनुभयो ।

सरकारले ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गरेर हिजो (सोमबार) र आज छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि ‘अल्वेण्डाजोल’ खुवाउन थालेको छ । उक्त कार्यक्रम अन्तर्गत देशभरिका ५२ हजार केन्द्रबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ६० हजारभन्दा बढीलाई जुकाको औषधि खुवाइँदै छ । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमअन्तर्गत ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिएको छ ।

उहाँका अनुसार भिटामिन ‘ए’ छ महिनादेखि एक वर्ष उमेर समूहका बालबालिकालाई आधा क्याप्सुल (एक लाख युनिट) र एक वर्षदेखि पाँच वर्षमुनिकालाई एकवटा क्याप्सुल (दुई लाख युनिट) तथा जुकाको औषधि एक वर्षदेखि दुई वर्ष उमेर समूहका लागि आधा ट्याबलेट (२०० मिलीग्राम) र दुई वर्षदेखि पाँच वर्षमुनिकालाई एक ट्याबलेट (४०० मिलिग्राम) खुवाउने गरिन्छ ।

सरकारले विसं २०५३ बाट भिटामिन ए र विसं २०५८ देखि जुकाको औषधि खुवाउँदै आएको छ । वर्षमा दुईपटक सरकारले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ । यस्तै भिटामिन ए र जुकाको औषधिसँगै आज बालभिटासमेत वितरण गर्न थालिएको छ । बालभिटा छ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई खुवाइने गरिन्छ । विसं २०७२ बाट शुरु गरिएको बालभिटा आठ लाख बालबालिकालाई खुवाउन थालिएको छ । बालभिटा ४६ वटा जिल्लाका बालबालिकालाई दिइने गरिन्छ । (रासस)

थप जानकारी