राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख २५, २०७८

गण्डकी प्रदेश मन्त्री बनेका दीपक मनाङेको यस्तो छ अपराध यात्रा

शुक्रवार, १७ बैशाख २०७८ १०:४३

काठमाडौं । काठमाडौंको कुनै पनि हिरासत कक्ष राजीव गुरुङ उर्फ दीपक मनाङेका लागि नयाँ छैन। नयाँ प्रहरी प्रमुख आएपछि पहिलो तार्गेट नै उनी हुन्थे। महानगरीय प्रहरी वृत्त लैनचौर, हनुमानढोका परिसर, टेकु परिसरसँगै काठमाडौंका धेरै प्रहरी कार्यालयका हिरासतमा उनको रात बितेको थियो। ०६० साल पुस ११ गते अर्का गुन्डा नाइके चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोगमा मनाङे पक्राउ परेका थिए। ठमेलमै हप्ता असुली र कवाडीको ठेक्का विवादमा चक्रे मिलनमाथि मनाङे समूहले आक्रमण गरेको थियो।
महाराजगञ्जस्थित चुफाङ रेष्टुराँमा डिनर लिँदै गरेको अवस्थामा २०६१ साल वैशाख ३१ गते मिलन गुरुङ (चक्रे मिलन) माथि खुँडा प्रहार गरी देब्रे हात काटिदिएको भन्दै गुरुङ पत्नी इन्दिराको जाहेरी र प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङेसहितका प्रतिवादीविरुद्ध ‘ज्यानमार्ने उद्योग’ मुद्दा चलाएको थियो।

सो आक्रमणमा मनाङे समूहका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार, उमेश लामासमेत संलग्न रहेको भन्दै उनीहरूविरुद्ध मुद्धा दायर भएको थियो। २०६९ सालमा मनाङेबाहेक उनीहरूले सफाइ पाएका थिए। मनाङे ०६५ फागुन र ०७० फागुनमा पक्राउ परेका थिए। जेलबाट पनि गुन्डागर्दी गरेको, ठेकेदारहरूसँग पैसा असुल गरेको, क्रसर व्यवसायीलाई धम्क्याएर सेयर लिएको जस्ता अभियोगमा मनाङेलाई प्रहरीले दर्जनौं पटक पक्राउ गरेको थियो।

०७० सालमा सेनाका मेजरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका मनाङेलाई तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारीले ६ महिना कैद सुनाएपछि अदालतमा मुद्दा चल्दा एक वर्ष थप कैद सजायको फैसला भएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ गते मनाङेसहित पाँच गुन्डाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा चलाएको थियो।

विभागले मनाङेसँग अवैध रूपमा कमाएको १४ करोड ७३ लाख ३१ हजार रूपैयाँ सम्पत्ति रहेको दाबी गरेको भए पनि उनको सबै सम्पत्ति वैध बनाइदिएको थियो। त्यतिमात्र होइन, प्रदेश सांसद रहेकै बेला २०७६ माघमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेर मनाङे ६ हजार धरौटीमा रिहा भएका थिए।                                                                                                                                अहिले तिनै मनाङे गण्डकी प्रदेश सभाका मन्त्री बनेका छन्। बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उनलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् ।

थप जानकारी