राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर १३, २०७८

जनस्वास्थ्यसँग खेलबाड गर्ने कमिशनखोरलाई तत्काल कारबाही गरियोस् : राप्रपा

शनिवार, २५ बैशाख २०७८ २१:४३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनस्वास्थ्यसँग खेलबाड गर्ने कमिसनखोरलाई तत्काल छानबिन र कारबाही गरी खोपको सहज आपूर्ति गर्न माग गरेको छ ।

शनिबार पार्टीका तीन अध्यक्षद्वारा जारी विज्ञप्तिमा संकटको समयलाई पनि नाफा आर्जनको मौकाको रुपमा लिइनु अमानवीय र व्यावसायिक धर्मविपरीतको कार्य भएको जनाइएको छ ।

“जनस्वास्थ्यसँग खेलबाड गर्ने कमिसनखोरलाई तत्काल छानबिन र कारबाही गरी खोपको सहज आपूर्ति गर्न राप्रपा माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “विद्यमान कोभिड संकटको नियन्त्रण र रोकथाममा सम्पूर्ण सामर्थ्य लगाइ नेपाली जनजीवनलाई थप नोक्सान हुनबाट जोगाउन सरकारको थप तदारुकताको खाँचो छ ।”

राप्रपाले संक्रमण हुनबाट जोगिन भौतिक दूरी कायम, मास्कको अनिवार्य प्रयोगजस्ता स्वास्थ्य मापदण्ड पालना गर्न पार्टीले सबैलाई अपिल गरेको छ । नागरिकको सेवामा समर्पित हुन पनि विज्ञप्तिमार्फत पार्टीका सबै तहका नेता–कार्यकर्तालाई आह्वान पनि गरिएको छ ।

थप जानकारी