राष्ट्र हितमा समर्पित
बिहिवार, बैशाख १३, २०८१

नेपाली जनताको मन अशान्त रहेको छ : राजा ज्ञानेन्द्र

बिहिवार, १७ आषाढ २०७८ ९:१७

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले यस वर्षको जन्मदिनको औपचारिक कार्यक्रम नमनाउने हुनुभएको छ । बुधबार शाहले एक सन्देश जारी गर्दै जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रुपमा नमनाउने उल्लेख गर्नु भएको होे ।

राजा शाहले एक सन्देश जारी गर्दै मुलुकमा बिद्यमान स्वस्थ्य संकटलाई मध्यनजर गर्दै यस वर्ष जन्मोत्सव नमाउने बताउनु भएको छ । सन्देश मार्फत उहाँले मुलुकमा राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्यौलको अवस्थामा देखा परेको बताउनु भएको छ ।

उहाँले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जतिनै रुपान्तरण गरे पनि जनताले ठोस सूख सूविधा नपाइरहेको अवगत गराउनु भएको छ । आफ्ना मुल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने राजनीतिक नेतृत्वका कारण यतिवेला नेपाली जनताको मन अशान्त रहेको उल्लेख गर्दै उहाँले कोरोनाको खोप उपचार पाउन नसकेकाहरुलाई चाडै खोप उपलब्ध गराउन पनि सरकार समक्ष आग्रह गर्नु भएको छ ।

यसै गरि देशमा वर्षादको यो समयमा प्राकृतिक विपद्को वेदना बढ्दै गइरहेको स्मरण गराउदै राजा शाहले विपत व्यवस्थापनमा सम्बन्धित पक्षले ध्यानदिनुपर्ने बताउनुभएको छ ।

राजाको सन्देश जस्ताको त्यस्तै:

नेपाली दिदी बहिनी तथा दाजूभाइहरू,
आजको विश्व एकतर्फ नयां ज्ञान विज्ञान र अत्याधूनिक प्रविधिको विकासमा अघि बढी रहेको छ भने दूर्भाग्यवश हाम्रो जीवन र जगतलाई विविध प्रकारका नयाँ रोग व्याधि र महामारीले सताई रहेको छ । यही क्रममा यसै वर्षको प्रारम्भिक चरणमा हामी पनि अस्वस्थ रह्यौं । सहयोगी स्वास्थ्यकर्मीहरुको कर्तव्यपुर्वक उपचार, शूभेच्छूकहरूको शूभकामना र याचनाकै कारण हाम्रो स्वास्थ्यमा सूधार आएको छ ।

राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्यौलको अवस्थामा देखा परेको छ । परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जतिनै रुपान्तरण गरे पनि जनताले ठोस सूख सूविधा नपाइरहेको बूझिएको छ । आफ्ना मुल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ । कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश छन् । यसै गरि देशमा वर्षादको यो समय प्राकृतिक विपद्को वेदना पनि उत्तिकै छ -जनजीवन दूस्खद् छ ।

जनतामा पैदा भएको निराशा तथा भोग्नू परेको पिडालाई ध्यानमा राख्दै हामीले यही असार २३ गतेको जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय गरेका छौं । सबै नेपाली र देशी विदेशी शूभचिन्तकहरुबाट प्रकट हूने सद्भाव तथा शूभकामनाप्रति हाम्रो हार्दिक धन्यवाद छ ।

श्री पशूपतिनाथले हामी सबैको कल्याण गरून् ।
जय नेपाल

थप जानकारी