राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

कुलमानविरुद्ध सर्वोच्च अदालतमा रिट

मङ्गलवार, १ भाद्र २०७८ ९:१६

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोमबार कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

पूर्व कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अझै बाँकी रहेको उल्लेख गर्दै आफ्नो पुनर्बहालीका लागि सरकारलाई आदेश दिन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनमा प्राधिकरणको निर्देशक पदमा हालै मात्र नियुक्त गरिएका कुलमान घिसिङलाई काम गर्न नदिन माग पनि गरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले शाक्यलाई २०७७ साल माघ २९ गते नियुक्ति गर्दा ४ वर्षको कार्यकालका लागि भनी उल्लेख गरिएको थियो ।

दायर भएको रिट निवेदनमा कार्यकारी निर्देशकको पद राजनीतिक नियुक्तिको पद नभएको र यसको बर्खास्ती पनि राजनीतिक निर्णयबाट हुन नसक्ने दाबी गरिएको छ । निवेदनमा ऊर्जा मन्त्रीले गत साउन २ गते आफूलाई बोलाएर सो पदमा घिसिङलाई ल्याउन लागिएको भन्दै राजीनामा दिनका लागि भन्नुभएको उल्लेख छ । साथै मन्त्रीले राजीनामा दिएमा आफूलाई अन्य आकर्षक पदमा नियुक्ति दिने प्रलोभन दिनुभएको पनि रिट निवेदनमा उल्लेख गरिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

थप जानकारी