राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

मुलुकी ऐन दिवसको अवसरमा राप्रपाद्धारा राजा महेन्द्रको सम्झना

मङ्गलवार, १ भाद्र २०७८ १८:३६

काठमाडौं । ५८ औं मुलुकी ऐन दिवसको अवसरमा राप्रपा निकट उत्पिडीत उत्थान संगठनले राजा महेन्द्रको योगदानलाई स्मरण गर्दै विचार गोष्ठी सम्पन्न गरेको छ । उक्त गोष्ठीलाई सम्बोधन गर्दै राप्रपाका विशेष समिति सदस्य एवं पूर्वमन्त्री बुद्धिमान तामाङले दुरदर्शी राजा महेन्द्रको योगदानको वर्णन गरेर नसकिने भन्दै उहाँका योगदानको नेपाली जनताले सदैव स्मरण गरिरहने बताउनुभयो ।

गरिबी, अशिक्षालगायतका कारण अहिले पनि जातीय छुवाछुत र विभेद समाजमा कायमै रहेपनि विस्तारै समाज रुपान्तरण हुँदैजाँदा व्यवहारिक रुपमा यसको अन्त्य हुने उहाँले स्पष्ट पार्नुभयो । प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै नेता तामाङले कुनैपनि धर्मशास्त्रमा छुवाछुत र जातीय भेदभाव उल्लेख नभएको भन्दै यसको व्यवहारिक अन्त्य जरुरी रहेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका सचिवालय प्रमुख ध्रुव बहादुर प्रधानले छुवाछुतको वैधानिक अन्त्य मात्र नभएर राजा महेन्द्रले नेपाललाई स्वतन्त्र एवं सार्वभौम बनाउन अतुलनिय योगदान दिएको बताउनुभयो । सम्बोधनकै क्रममा पार्टीका अर्का सचिवालय प्रमुख भास्कर भद्राले राजा महेन्द्रले २०२० सालमा मुलुकी ऐन जारी गरेपश्चात जातीय भेदभाव र छुवाछुत दण्डनीय हुने व्यवस्था भएकोले समाज रुपान्तरणमा राजा महेन्द्रको योगदानलाई नेपाली जनताले कहिल्यै भुल्न नसक्ने बताउनुभयो ।

छुवाछुत र विभेदरहित समाज निर्माण गर्न सबै जागरुक हुनुपर्ने धारणा राख्दै भद्राले समाजको जागरणमा लाग्न सिंगो उत्पिडीत उत्थान संगठनलाई आग्रह गर्नुभयो ।
उत्पिडीत उत्थान संगठनका केन्द्रीय अध्यक्ष ऋषिबाबु परियारको अध्यक्षतामा सम्पन्न उक्त विचार गोष्ठीमा पार्टीका विशेष समिति सदस्य श्याम तिमल्सिना, केन्द्रीय कार्यसम्पादन समिति सदस्य गंगा वि.क. लगायतले सामाजिक रुपान्तरणका लागि राजा महेन्द्रको योगदानबारे चर्चा गर्नुभएको थियो भने स्वागत मन्तव्य रेश्मा दासले व्यक्त गर्नुभएको थियो ।

थप जानकारी