राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

नेपाल–भारतबीच संयुक्त सैनिक अभ्यास सम्पन्न

आइतवार, १७ आश्विन २०७८ २०:०३

काठमाडौँ, असोज १७ गते । भारतको पिथौरागढमा सञ्चालित “एक्स सूर्य किरण” पन्ध्रौँ समूहको नेपाल–भारत गणस्तरीय संयुक्त सैनिक अभ्यास सम्पन्न भएको छ । नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा ३०० र भारतीय सेनाका ४०० जना फौजको सहभागिता रहेको उक्त अभ्यास यही असोज ४ देखि १६ गतेसम्म भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सैनिक युद्धकला, प्राकृतिक प्रकोप एवं कोभिड–१९ महामारीजस्ता विपद्का बेला सुरक्षा फौजको भूमिकाको व्यावहारिक अभ्यासका साथै सहभागी फौजले आ–आफ्नो पेशागत अनुभवसमेत अभ्यासका क्रममा साटासाट भएको थियो ।

भारतीय सेना मध्य कमाण्ड सेनापति रथी एसएस महलद्वारा शनिबार अन्तिम प्रवचन भएको उक्त अभ्यास समापन समारोहमा नेपाली सेनाको मध्य कमाण्ड सेनापति उपरथी विनयविक्रम राणा, ३ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी कुमारबाबु थापा तथा नेपाल र भारतका सैनिक सहचारीलगायत सहभागी रहेको सेनाले जनाएको छ ।

संयुक्त सैनिक अभ्यासले दुई देशबीचको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन तथा सकल दर्जामा आधारभूत सैनिक सीपको विकास एवं आपसी समझदारी बढाउन योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ । (रासस)

थप जानकारी