राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

नवरात्रको चौथो दिन: माता कुष्माण्डाको पूजा तथा आराधाना गरिँदै (मन्त्र सहित)

आइतवार, २४ आश्विन २०७८ ८:००

काठमाडौं । ब्रह्माण्डको रचना गर्ने श्रेय कूष्माण्डा देवीलाई प्राप्त छ । त्यसैले यिनलाई आदिस्वरूपा, आदिशक्ति मानिन्छ । अष्टभुजा कूष्माण्डा देवीको निवासस्थल सूर्यमण्डलको भित्री लोकमा रहेको र उनको तेजबाट दश दिशा प्रकाशित भइरहेको शास्त्रमा उल्लेख छ ।

हिन्दु नेपालीहरुको महान चाड दशैंको चौथो दिन आज दुर्गा भवानीका ९ रुपहरु मध्येको चौथो रुप कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ । महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरुमा आज पनि बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ ।

प्रतिपदादेखि पूणिर्मासम्म विभिन्न देवदेवीका अतिरिक्त विशेष गरी शक्तिस्वरुपा दुर्गा भवानीलाई शैलीपुत्र, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाको नामले पनि प्रचलित छ ।

कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो छातिमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको उत्पत्ति भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको जनविश्वास छ ।

यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।

कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।

राजधानीका गृहेश्वरी दक्षिणकाली नक्साल भगवती भद्रकाली नेपालगंजको बागेश्वरी सप्तरीको छिन्नमस्ता धरानको दन्तकाली पोखराको विन्धवासिनी डोटीको शैलेश्वरी बाग्लुङको कालिका गोरखाको गोरखकाली मकवानपुरको चुरियामाई र भुटनदेवीलगायतका मन्दिर र शक्तिपीठहरुमा पनि पूजाआजा भइरहेको छ ।

ध्यान
वन्दे वांछित कामर्थे चन्द्रार्घकृत शेखराम्।
सिंहरूढ़ा अष्टभुजा कूष्माण्डा यशस्वनीम्॥
भास्वर भानु निभां अनाहत स्थितां चतुर्थ दुर्गा त्रिनेत्राम्।
कमण्डलु, चाप, बाण, पदमसुधाकलश, चक्र, गदा, जपवटीधराम्॥
पटाम्बर परिधानां कमनीयां मृदुहास्या नानालंकार भूषिताम्।
मंजीर, हार, केयूर, किंकिणि रत्नकुण्डल, मण्डिताम्॥
प्रफुल्ल वदनांचारू चिबुकां कांत कपोलां तुंग कुचाम्।
कोमलांगी स्मेरमुखी श्रीकंटि निम्ननाभि नितम्बनीम्॥

स्तोत्र पाठ
दुर्गतिनाशिनी त्वंहि दरिद्रादि विनाशनीम्।
जयंदा धनदा कूष्माण्डे प्रणमाम्यहम्॥
जगतमाता जगतकत्री जगदाधार रूपणीम्।
चराचरेश्वरी कूष्माण्डे प्रणमाम्यहम्॥
त्रैलोक्यसुन्दरी त्वंहिदुःख शोक निवारिणीम्।
परमानन्दमयी, कूष्माण्डे प्रणमाभ्यहम्॥

थप जानकारी