राष्ट्र हितमा समर्पित
शनिवार, आश्विन ३०, २०७८

हाम्रो देशमा राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक हुँदैन : राजा ज्ञानेन्द्र

मङ्गलवार, २६ आश्विन २०७८ १५:४८

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले नेपालजस्तो देशमा प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक हुन नसक्ने बताउनु भएको छ ।

राजाले विजया दशमीको अवसरमा देशभित्र र देश बाहिर रहेका सम्पूर्ण नेपालीहरुलाई शान्ति र सुखका लागि शुभकामना व्यक्त गर्दै यस्तो बताउनु भएको हो

‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तूल्याए पनि प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्तैन भन्ने आबोध हामीले गरेका छौँ । प्रजातान्त्रिक, प्रगतिशील या अन्य जुनसुकै विचारप्रति आस्थावान भए पनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वाश हामीले लिएका छौँ’, उहाँले मंगलबार जारी गरेको सन्देशमा भन्नु भएको छ।

राजाले सन्देशमा भन्नु भएको छ, ‘अतितका गौरवपूर्ण विधि व्यवस्थालाई सम्झेर विद्यमान नमिल्दा स्थितिलाई सुधार्ने सकारात्मक र देश सुहाउँदो राजनीति, राज्य व्यवस्थाका सबै कृयाशिल शक्तिहरुबाट सहि सोच राख्नु देश र जनताको हितमा उपयुक्त अनुभुति हो भन्ने हाम्रो धारणा छ । देशभन्दा माथि हामी कोही पनि छैनौँ ।’

राजा शाहले मंगलबार जारी गर्नु भएको शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रो समाज सनातनिक आदर्श र पुर्ख्यौली पौरखबाट पृथक छैन । तर हाम्रो राजनीतिक र राजकाजी चालचलन त्यस अनुरुप हुन सकेन । लोककल्याणका हेतु, राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनु पर्ने हो । तर राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको छ ।’

सन्देशमा अघि भनिएको छ, ‘कोरोनाको महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महंगी र अस्थिरताको भूमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त ?’

कुनै पनि परिवर्तनको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभूत गर्न सक्ने पर्ने भन्दै उहाँले प्रश्न गर्नु हुन्छ । सन्देशमा भनेका छन्, ‘कुनै पनि परिवर्तनको मर्म देशसँग अन्तर सम्बन्धित हुने गर्दछ । दुर्भाग्यबस शिक्षा तथा स्वास्थ्यको व्यापारिकरण, विकास निर्माणका कामको भ्रष्टिकरण, प्रशासनिक र राजनीतिक पेशाले सीमित व्यक्तिलाई फाइदा पुर्‍याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निरासाको बादल छाएको छ ।’

‘त्यसैगरी सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म संस्कृति संकटमा पार्ने, राष्ट्रहितमा केन्द्रित रहनु पर्ने परराष्ट्रनीति असन्तुलित भई राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौति थपिएकोले हाम्रो मन पोलेको छ’, सन्देशमा राजा भन्नू हुन्छ ।

हरेक नागरिकलाई आफ्नो स्वतन्त्र विचार र आस्थाको अधिकारी हुने उनले उल्लेख गरेका छन् । उहाँले सन्देशमा भन्नु भएका छ, ‘राजसंस्था वैचारिक आस्थाका आधारमा विभेद गर्दैन त्यो हाम्रो मान्यता पनि होइन न त परम्परा । शाहवंशीय राज पद्धतिको इतिहासले स्पष्ट गरेको छ, राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधि बाहिरबाट कुनै पनि समस्याको समाधान खोजेको छैन, खोज्दैन पनि ।’

देशभक्ति र राष्ट्र प्रतिको भावना मानिसमा दविद भए पनि नामेट हुन नसक्ने उनले उल्लेख गरेका छन् । उहाँले भन्नू भएको छ, ‘योग्य समयमा समूचित तरिकाबाट त्यो प्रस्फुठित हुने गर्दछ । केही समय यता जिम्मेबार एवं देशभक्त नागरिकहरुबाट राष्ट्रको चिन्ताले व्याकूल भई व्यक्त विचारहरुलाई हामीले राष्ट्रिय अनूराग र निष्ठा मात्र प्रकट गरेको नभई, आम नेपालीमा राष्ट्रवादी चेतको सञ्चार समेत गराएको रुपमा बुझेका छौँ ।’ राजाद्वारा जारी सन्देशमा उल्लेख छ ।

थप जानकारी