राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

राप्रपामा नेतृत्व परिवर्तनको पक्षमा काठमाडौंमा भेला सम्पन्न

सोमवार, १५ कार्तिक २०७८ १९:१८

काठमाडौं । महाधिवेशनको मिति नजिकिँदै गर्दा राप्रपा भित्र नेतृत्व परिवर्तनको औपचारिक बहस प्रारम्भ भएको छ । आज काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य, उपत्यकाका स्थानीय तह, प्रदेशसभा, प्रतिनिधि सभा निर्वाचन क्षेत्रका अध्यक्ष र अगुवा कार्यकर्ताको भेलामा राप्रपा नेताहरू सांसद राजेन्द्र लिङ्देन र नेपालगन्जका मेयर डा.धवल शमशेर राणाले राप्रपा बचाउन र नवीन राप्रपा निर्माण गर्न नेतृत्व परिवर्तन आवश्यक रहेको र नयाँ नेतृत्वका लागि आफूहरू तयार रहेको उदघोष गरेका छन् ।

राप्रपाका नेताहरू पूर्व उपाध्यक्ष दिलविकास राजभण्डारी र काठमाडौंका पुराना एवं लोकप्रिय नेता जयकुमार खड्काले संयोजन गरेको दिपावली चियापान समारोहमा बोल्दै नेता लिङ्देनले पार्टीको वर्तमान नेतृत्वको अभिभावकीय भूमिका रहनुपर्ने बताउदै पार्टी र नेपालको राष्ट्रवादी आन्दोलनलाई नयाँ शिराबाट उठाउन आगामी महाधिवेशन मै नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताएका छन् ।

पार्टी एकता पछि पार्टीले गति लिनेछ भन्ने आम अपेक्षा माथि वर्तमान नेतृत्वको कारणबाट तुषारापात भएको, पार्टीको सुनौलो भविष्य निर्माण गर्न आगामी महाधिवेशन राप्रपाका नेता कार्यकर्ताका लागि अन्तिम अवसर भएको र यो अवसर गुमाउन नहुनेमा जोड दिएका छन् । नेता लिङ्देनले अहिलेकै अवस्थाको निरन्तरताले पार्टी विघटनको जोखिम रहेको उल्लेख गर्दै पार्टीको एजेन्डाको रक्षा गर्न महाधिवेशन प्रतिनिधि र शुभेच्छुकले विवेक प्रयोग गर्नुपर्ने ऐतिहासिक मोडमा आइपुगिएको र आफू नेतृत्वका लागि अघि बढ्ने संकेत गरेका छन् ।

राप्रपा नेता डा.राणाले राप्रपालाई कुनै पार्टीको पिछलग्गु पार्टी बनाउन नहुने र राप्रपालाई आफ्नो तागतमा चुनाव जित्ने पार्टी बनाउन कार्यकर्तामा भरोसा हुनुपर्ने बताउदै अहिले कार्यकर्तामा नेतृत्व प्रति भरोसा टुटेको उल्लेख गरेका छन् । राणाले नेपाली जनताले खोजेको वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता पुरा गर्न बलियो राप्रपा हुनुपर्नेमा जोड दिदै यथास्थितिको निरन्तरता भन्दा राप्रपा नयाँ नेतृत्व तर्फ अघि बढ्नुपर्ने उल्लेख गरेका छन् ।

भेलामा राप्रपा नेताहरू राजेन्द्र लिङ्देन, धवल शमशेर राणा, हेमजङ्ग गुरुङ, डा.गोविन्दराज खनिया, भरत गिरी, गोपाल दाहाल, दिलविकास राजभण्डारी, जयकुमार खड्का, तारानाथ लुइँटेल, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, एजी शेर्पा, लक्ष्मी संग्रौला, प्रेम बलायर, रमानन्द न्यौपाने, प्रविन थोकर तामाङ, दिनेश कार्की, युवराज घिमिरे, लिला स्त्री, श्याम खड्का, श्याम घिमिरे, दमन बस्नेत, चिरागमान सिंह कुँवर, मोहनकाजी भण्डारी सहित केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिका अधिकांश सदस्य लगायत उपत्यकाका स्थानीय, प्रदेश सभा र संघीय क्षेत्रका नवनिर्वाचित अध्यक्षहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

थप जानकारी