राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

नेपालका राजाहरु विदेशी सामु झुकेनन् : राप्रपा अध्यक्ष लिङ्देन

राप्रपाले राजा वीरेन्द्रलाई सम्झियो

बुधवार, १४ पौष २०७८ १४:४६

१४ पौष, काठमाडौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको सामु झुक्नु भन्दा नेपाली जनताको चाहना अनुरुप चल्ने नेपालको राजसंस्थाको विशेषता रहेको बताएका छन् । स्वर्गवासी राजा वीरेन्द्रको ७७ औं जन्म जयन्तीको अवसरमा राप्रपाको भातृ संगठन नेपाल प्राज्ञिक परिषद्ले आयोजना गरेको “स्व. श्री ५ वीरेन्द्र : एक बहुआयामिक व्यक्तित्व” विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्र निर्माण, जनताको जीवनस्तर र विकासको जग हाल्ने काममा राजसंस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

उनलेे प्रजातन्त्र, विकास र क्षेत्रीय सन्तुलन राजा वीरेन्द्रको अटुट प्राथमिकता रहेको र जनताको चाहना बुझ्ने राजाको रुपमा आफ्नो जीवन समर्पण गरेको उल्लेख गरेका छन् । सिक्किमले देशको पहिचान गुमाउँदै गर्दा राजा वीरेन्द्रले नेपाली राष्ट्रियताको जग बलियो बनाउन ऐतिहासिक भूमिका निर्वाह गरेको प्रसङ्ग उल्लेख गर्दै लिङ्देनले नेपालका राजा र राजसंस्थाले पटकपटक देशभक्ति प्रमाणित गरेको बताएका छन् ।

नेपाली कांग्रेसका नेता एवं नेविसंघका संस्थापक सभापति विपिन कोइरालाले नेपालो संविधानले सबैलाई समेट्न नसकेको बताउँदै संविधान बनाउने मतियारहरु नेतृत्व तहबाट पाखा नलागेसम्म देश बन्न नसक्ने खरो टिप्पणी गरेका छन् । राप्रपाले महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेर राष्ट्रियता, प्रजातन्त्र र धर्म संस्कृतिको रक्षाको आशा राख्ने र परिवर्तनको चाहना राख्ने जनताको ठूलो पंक्तिलाई आशा जगाएको बताएका छन् ।

कोइरालाले दलीय सदस्यबाट गणतन्त्रको राष्ट्रपति चयन हुने व्यवस्था नेपालका लागि उपयुक्त नभएको समेत बताए । कोइरालाले नेपालमा संघीयताको खारेजी, राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना नभएसम्म देशमा स्थिरत्वा कायम हुन नसक्ने र कालान्तरमा नेपाल सुरक्षित पनि नरहने ठोकुवा गरेका छन् ।

पूर्व जलश्रोत मन्त्री दिपक ज्ञवालीले राजा वीरेन्द्र राष्ट्र हित र जनताको अपेक्षालाई सर्वोपरि ठान्ने राजा भएको तर राजा भन्नासाथ सामन्त हुने गलत भाष्यको विकास गरेर राजसंस्थालाई बदनाम गरिएको बताएका छन् । ज्ञवालीले राजाहरूबाट जलश्रोतको क्षेत्रमा राष्ट्रघात नभएको तर जनताबाट निर्वाचित दल र नेताहरूबाट जलश्रोतमा गम्भीर त्रुटि भएको र त्यसले देशलाई दीर्घकालसम्म असर पार्ने उल्लेख गरेका छन् । नेपाल भारत सम्बन्धको विषयमा चर्चा गर्दै ज्ञवालीले नेपालले विकासको नजरबाट हेर्ने तर भारतले सुरक्षाको नजरबाट नेपाललाइ हेर्ने गरेको हुँदा यदाकदा समस्या पैदा हुने गरेको बताएका छन् ।

पूर्व सचिव द्वारिका नाथ ढुंगेलले राजा वीरेन्द्र जनचाहना अनुरुप चल्ने प्रजातान्त्रिक राजा भएको बताएका छन् । उनले विकास क्षेत्रको अवधारणाले क्षेत्रीय विकासमा योगदान दिने राजा वीरेन्द्रको प्रयास उल्लेखनीय रहेको बताएका छन् । कुनै पनि ठाउँमा नातावाद, कृपावाद र दलीय स्वार्थका आधारमा पात्र छनौट गर्ने र प्राथमिकता दिने अहिले खराब प्रचलन बढिरहेको अवस्थामा त्यसबेला पढेलेखेका योग्य व्यक्तिको पहिचान गरि जिम्मेवारी प्रदान गर्ने राजा वीरेन्द्रको अभाव खट्किरहने पनि ढुंगेलले बताएका छन् ।

नेपाल प्राज्ञिक परिषदका अध्यक्ष जयन्तनाथ खनालले इतिहासका राम्रा पक्ष र राम्रा पात्रको योगदानको चर्चा गर्ने परम्पराको अन्त्य भएको गुनासो गर्दै राजा वीरेन्द्रको योगदान बारे विद्यालय र कलेजका पाठ्यक्रममा समावेश गर्न माग गरेका छन् ।

थप जानकारी