राष्ट्र हितमा समर्पित
शनिवार, आषाढ १८, २०७९

दिव्योपदेश र दोषी चस्मा: रमानन्द न्यौपाने

मङ्गलवार, २७ पौष २०७८ ९:२८

पौष २७ गते, नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिन। विक्रम सम्बत १७७९ पौष २७ गते तत्कालीन गोर्खाका राजा नरभुपाल शाह र रानी कौशल्यावतिको जेष्ठ पुत्रको रूपमा जन्मिएका पृथ्वीनारायण शाहले आफ्नो राज्यारोहणसँगै झण्डै ५४ वटा स-साना राज्यमा बिभाजित नेपाललाई एकीकृत गर्ने अभियान आरम्भ गरेका थिए।

एकीकरण अभियानको क्रममा नुवाकोटलगायत उपत्यकाका तीनवटै राज्य जितिसकेपछि आफ्नो जीवनको उत्तरार्धमा नुवाकोटमा गुरू पुरोहित, थरघर, भैयाद भारदार र समाजका अग्रजलाई जम्मा पारी मुलुकको राज्य व्यवस्था संचालनार्थ भावी पुस्ताले अपनाउनुपर्ने मुलभूत मान्यताका सन्दर्भमा पृथ्वीनारायण शाहबाट व्यक्त अर्ति एवं उपदेशहरु, तिनै दिव्योपदेशको महत्त्व र पृथ्वीनारायण शाह र उनको एकीकरण अभियानमा विशेषगरी पछिल्लो समय नेपालका कतिपय मार्क्सवादी र पहिचानवादीहरुले तेर्साउने गरेका प्रश्नहरु माथि चर्चा गर्नु लेखको उदेश्य रहेको छ।

प्रस्तुत सन्दर्भमा चर्चा गर्नुपूर्व पृथ्वीनारायण शाहका केही मननयोग्य दिव्योपदेशहरु उल्लेख गर्नु उपयुक्त हुनजान्छ। राजा पृथ्वीनारायण शाहद्वारा मुलुकको मौलिक राज्य व्यवस्था संचालनार्थ व्यक्त दिव्योपदेशहरु यस प्रकार रहेका थिए।

दुनिँञाँ जसदेषी राजि रहन्छन् उसैलाई कजाई दिनू”

“यो राजे दुई ढुंङ्गाको तरुल जस्तो रहेछ…..चीन बादसाह शीत ठूलो घाहा राषनू…… दषिनको समुन्द्रका बादशाह सित घाहा त राषनू तर त्यो महाचतुर छ…….जाइ कटक् नगर्नु झिकी कटक् गर्नू।”

“मेरा साना दुषले आर्ज्याको मुलुक होइन। सबै जातको फुलबारी हो। सबैलाई चेतना भया। यो फुलबारी को छोटा बडा चारै जात छत्तीसै बर्न ले (यसलाई सम्भार गर्नुपर्छ)’

‘यो असिल हिन्दुस्थाना हो। आफ्ना कुलाधर्म नछोड्नू…….’

‘देस का महाजन् लाई गोड प्रसाहा देषी उभो आउन नदिनू……. देशका महाजन् हरू हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरि छाड्दछन् …… आफ्ना देसका कपरा बन्न जान्यालाई नमना देषाई सघाउनू….।’

आफ्ना देसको जिनीस् जरिबुटि देस लैजानू र नगद षौचि राषनू……. प्रजा मोटा भया दर्बार बलियो रहन्छ।’

राजाले ठूलो निञाँ निसाफ हेर्नू। अन्याय मुलुकमा हुन नदिनू ….. घुस दिन्या र घुस षान्या इन दुईको ता धन जिव गरि लियाको पनि पाप छैन। यी राजाका महासतुर हुन्।

टक्सार पनि चोषो चलाउनू …… निञासास्त्र बमोजिम् अदालथ चलाउनू। अदालथका पैसा दरवार भित्र नहाल्नू…..’

षानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरू जग्गामा सारिकन षानी चलाउनू। गह्रो बन्या जग्गामा घर भया पनि घर अरू जग्गामा सारी कुलो काटि षेत बनाई आवाद गर्नू….’

‘आफ्ना स्वष सयेल लाई ता सास्त्रबमोजिम् को तिनै सहर नेपालका नेवारहरूको नाच झिकाई हेर्‍या पनि हुन्छ…..(विदेशी नाचगान र रहनसहनको पछि नलाग्नू)”

नेपालको सन्दर्भमा पृथ्वीनारायण शाहका उल्लेखित दिव्योपदेशको महत्त्व हिजो मात्रै नभएर आज पनि उत्तिकै छ। पृथ्वीनारायण शाहले नेपालको भौगोलिक अवस्थिति र यसको संबेदनशीलताको ख्याल गरि नेपाललाई दुई ढुङ्गा बिचको तरूलको संज्ञा दिएका थिए।

यसैगरी उनको उत्तर दक्षिणका दुइटै ठूला शक्तिसँग राम्रो सम्बन्ध बनाइराख्नुपर्ने, जाइ नलाग्ने आइ परे पछि नहट्ने भन्ने उपदेश आज पनि उत्तिकै महत्त्वपूर्ण छ।

अर्को शब्दमा भन्ने हो भने वर्तमान नेपालको छिमेक नीति र परराष्ट्र सम्बन्धको आधारस्तम्भ नै पृथ्वीनारायण शाहको उक्त दिव्योपदेश हो भन्दा अन्यथा नहोला।

त्यस्तै गरि पृथ्वीनारायण शाहले स्वदेशी उत्पादनलाई जोड दिन आवस्यक तालिमको व्यवस्था गर्नुपर्नेदेखि लिएर मुलुकको आफ्नै खानी उत्खनन र उपयोग गर्नुपर्नेसम्मका कुराहरू उपदेशमा उल्लेख गरेका छन्।

उत्पादनशील जमिनमा भएका बस्ती उठाएर उत्पादनमा वृद्धि गर्ने सुझाव उपदेशमा छन्। त्यसैगरी स्वदेशी जिन्सी सामान र जडिबुटी बिदेश निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्नुपर्ने उपदेश देख्दा आज हामीले अवलम्बन गर्न खोजेको निर्यातमुखी अर्थतन्त्रको मान्यता र आवश्यकता उतिबेला नै पृथ्वीनारायण शाहले अनुभूति गरिसकेको आभास मिल्छ।

त्यसैगरी उनले स्वदेशी संस्कार, मौलिक धर्म संस्कृति बचाउन र विदेशी आहार बिहार रहनसहनमा नरम्न उपदेश दिएको पाइन्छ। मुलुकमा बिदेशी महाजनहरू छिरे मुलुक कंगाल हुने कुरा पनि उपदेशमा छन्।

समग्रमा भन्ने हो भने उनको दिव्योपदेशमा स्वदेशी आत्मनिर्भरताको मान्यता बिम्बित देखिन्छ।
नेपाल बहुजातीय, बहुसांस्कृतिक मुलुक हो र मुलुकको एकीकरण अभियानमा सबै जातिको भूमिका रहेको थियो भन्ने कुरा उपदेशमा झल्किन्छ। यो मुलुक कुनै जात विशेषको मात्रै नभएर सबैको साझा फूलबारी हो र यसको संरक्षण गर्नु सबैको कर्तव्य हो भन्ने कुरा मात्रै उपदेशमा छैनन्, उनले व्यवहारमा पनि सबै जाति बर्गलाई राज्य व्यवस्थामा संलग्न गराएको पाइन्छ।

यसरी हेर्दा पृथ्वीनारायण शाहको दिव्योपदेशमा हाल एक्काइसौं शताब्दीमा उठ्न थालेका समावेशीताका मान्यताहरू आजभन्दा करिब तीन सय वर्ष अगाडि नै पृथ्वीनारायण शाहले अनुभूत र अभ्यास गरिसकेको आभास मिल्छ।

पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेशमा राजाले चाहेको भन्दा पनि प्रजाले रूचाएको ब्यक्तिलाई शासन सञ्चालनको जिम्मेवारी दिनुपर्छ र जनमतको कदर गर्नुपर्छ भन्ने मान्यता उल्लेख गरेको देख्दा हाल हामीले भन्ने गरेको प्रजातान्त्रिक मूल्य र मान्यताको आत्मा उनको उपदेशमा देख्न सकिन्छ।

उनले आफ्नो उपदेशमा आफ्नो इच्छा अर्कैलाई हुँदा पनि प्रजा कालु पाँडेदेखि खुसी हुँदा उनलाई नै काजी बनाएको उल्लेख गरेका छन्।

पृथ्वीनारायण शाहको दिव्योपदेशमा मुलुकको सुशासनमा विशेष जोड दिइएको पाइन्छ। घुस दिने र घुस खानेलाई राजाका महासत्रूको उपमा दिएर मृत्युदण्डसम्मको सजाय गर्न सुझाइएको मात्रै छैन राजाले मुलुकमा अन्याय हुन दिन नहुनेदेखि अदालतलाई स्वच्छ र निश्पक्ष राख्नुपर्नेसम्मका कुराहरू उपदेशमा उल्लेख भएको पाइन्छ।

त्यस्तै राजाले जनताको हित नै सर्वोपरि ठान्नुपर्ने र प्रजा मोटा भए मात्रै दरबार बलियो हुने कुरा उनको उपदेशमा छन्।

सार संक्षेपमा भन्ने हो भने पृथ्वीनारायण शाहका दिव्योपदेशले मुलुकको समग्र नीति निर्माण र राज्य सञ्चालन प्रक्रियामा हिजो जति महत्त्व बोकेका थिए आजको एक्काइसौं शताब्दीमा पनि उत्तिकै महत्त्व बोकेका छन र आज पनि उत्तिकै सान्दर्भिक छन्।

नेपालमा २०४६ सालको परिवर्तन यता र विशेषगरि २०६२/०६३ को आन्दोलन सँगै पृथ्वीनारायण शाह र उनको एकीकरण अभियानलाई गलत ढंगले ब्याख्या र चित्रण गर्ने संगठित र योजनाबद्ध अभियान सञ्चालन गरियो।

यसमा बामपन्थी बुद्धिजीवीहरू, आफूलाई पहिचानवादीको उपमा दिनेदेखि जातिय-क्षेत्रीय राजनीति गर्ने राजनीतिक दल र दलका कार्यकर्ताहरु लागिपरेको देखियो।

पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानलाई पश्चिमा उपनिवेशवादी एवं साम्राज्यवादी क्रियाकलाप र मान्यतासँग जोडेर तुलना गर्ने संगठित अभियान नै सञ्चालन गरेको देखियो। पृथ्वीनारायण शाहको अभियान पश्चिमा साम्राज्यवादी र उपनिवेशवादीको जस्तो केवल अरूको साधन श्रोत कब्जा गर्ने र आर्थिक शोषण गर्ने उदेश्यबाट सञ्चालित थि।एन न त यो अभियानमा समुन्द्रपारको अतिक्रमणकारी शक्तिको संलग्नता नै थियो।

उनले असभ्य मान्छेलाई सभ्य बनाउन कथित ‘सिभेलाइजिङ मिसन’ को रुपमा यो अभियान सुरु गरेका थिएनन्।

पृथ्वीनारायण शाहको यो अभियान न त युरोपमा औद्योगिक क्रान्ति पछि उत्पादित बस्तुको खपतको लागि बजारको खोजी र प्रतिस्पर्धा गरिएझै गोर्खामा उत्पादित बस्तुहरूको बजार खोज्न गरिएको उपनिवेशवादी कदम थियो न साम्राज्यवादले झै अन्य राज्यमाथि आर्थिक र राजनैतिक नियन्त्रण राख्न र आफ्नो मान्यतालाई अन्य राज्यमा जबर्जस्त लाद्न गरिएको सैन्य परिचालन नै थियो।

बरू उत्तर र दक्षिणका साम्राज्यवादी शक्तिहरूबाट समग्र हिमवतखण्डलाई जोगाउन चालिएको साम्राज्यवाद र उपनिवेशवाद बिरोधी अभियान थियो। त्यसैले पृथ्वीनारायण शाहको एकीकरण अभियानलाई साम्राज्यवादी र उपनिवेशवादी कदम देख्नु दोषी चस्माको उपज बाहेक केही हुन सक्दैन।

त्यसैगरी आफूलाई पहिचानवादी ठान्ने कतिपय जनजाति अगुवाले पृथ्वीनारायण शाहले आफ्नो जातिय राज्य लुटिदिएको भन्दै आक्रोश र गुनासो पोख्ने गरेको देखिन्छ।

पृथ्वीनारायण शाहले एकीकरण प्रक्रिया प्रारम्भ गर्नु पूर्व झन्डै चार दर्जन भन्दा धेरै टाकुरे राज्यहरुको अस्तित्व देखिन्छ। जुन राज्यहरु कुनै जात विशेषका मात्रै थिएनन्। राज्यहरुमा जात विशेषको बाहुल्यता थियो होला तर जातिय राज्यको रूपमा रहेका थिएनन्।

त्यसैले पृथ्वीनारायण शाहले आफ्नो जातीय राज्य खोसे भन्नु पनि नेपालमा जातीय क्षेत्रीय द्वन्द्व फैलाउन लागिपरेका पश्चिमा आइएनजिओहरुले उपहार बक्सेको दोषि चस्मा भिरेर पृथ्वीनारायण शाह तर्फ फर्किनु नै हो।

कतिपयले पृथ्वीनारायण शाहको उक्त अभियानलाई पहाडिया खस जातिको प्रभुत्व कायम गर्न सुरु गरिएको एकल जातीय अभियान थियो भन्ने तर्क गर्ने गरेको पनि सुनिन्छ। तर, पृथ्वीनारायण शाहको आफ्नो दिब्योपदेशमा यो मुलुक सबै जातको साझा फूलबारी हो भन्ने अभिव्यक्ति, उनको सेनामा ब्राह्मण, खस, मगर सबै जातिको उपस्थिति र प्रतिनिधित्व रहेको अनि एकीकरण अभियानमा बिसे नगर्चीसम्मको सहयोग र सल्लाह लिएको देखिन्छ।
त्यति मात्रै होइन तत्कालीन राज्य सञ्चालन संयन्त्रमा सबै जातजातिको सार्थक संलग्नता देखिएबाट यो अभियान पनि कुनै जाति विशेषले जाति विशेषको लागि सुरु गरेको अभियान नभई मुलुक एकीकरणको अभियान थियो भन्ने कुराको पुष्टी मिल्छ।

यसैगरी कतिपयले पृथ्वीनारायण शाहले एकीकरण अभियानमा युद्ध्योपराध गरेको भन्ने तर्क प्रस्तुत गरेका छन्। उनीहरुले विशेषगरी फादर गुस्सेपेले लेखेको ‘एन एकाउन्ट अफ द किङडम अफ नेपाल’ नामक पुस्तक र कर्क प्याट्रीकले गरेको वर्णनलाई तेर्साएर पृथ्वीनारायण शाहले कीर्तिपुरका नेवारको नाक काट्न लगाएको भन्ने तर्क प्रस्तुत गरेका छन्।

नाक काटिनेको उमेर समूह, लिङ्ग, संख्या र काटिएका भनिएका नाकको तौल सन्दर्भमा प्रस्तुत गरिएको तथ्यांक आफैंमा बिरोधाभाषपूर्ण देखिन्छ। पृथ्वीनारायण शाहले उपत्यकाबाट इसाई पादरीहरुकलाई लखेटेको र तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारको क्याप्टेन किनलक सहितको टोलीलाई पराजित गरेको तत्कालीन सन्दर्भमा फादर गुस्सेपे र कर्क प्याट्रीकले प्रतिसोधपूर्ण ढंगले घटनाको बढाइचढाइ गरेको भन्ने मत पनि उत्तिकै बलियो छ।
इतिहासकार बाबुराम आचार्यले त उनीहरुले उल्लेख गरेको उक्त घटना झुठो भएको बताएका छन्। कतिपयले तत्कालीन राज्य व्यवस्था र राज्यहरु बिचको सम्बन्ध सैनिक बलमा टिकेको, तत्कालीन परिवेशमा युद्व नै राज्य एकीकरणको माध्यम रहेको सन्दर्भलाई बिसौ शताब्दीको उत्तरार्धमा आएका मानवाधिकारको अवधारणाले हेर्दा उक्त अभियानमा हिंसा देखिनु कुनै नौलो कुरा नभएको तर्क प्रस्तुत गरेका छन्।

युद्व र युद्वमा अवलम्बित नीति नियम भन्दा यसको उद्धेश्य महत्वपूर्ण रहेको कतिपयको तर्क रहेको छ।

त्यसैगरि कतिपयले पृथ्वीनारायण शाहको उक्त अभियानलाई नेपाल राष्ट्रको एकीकरण नभएर गोर्खा राज्यको विस्तारको संज्ञा दिने गरेको देखिन्छ।

पृथ्वीनारायण शाहले मकवानपुरबाट फर्किदै गर्दा चन्द्रागिरिको डाँडाबाट कान्तिपुर, भक्तपुर र पाटन तीनवटै सहर निहालेको र यीनै तीन वटा राज्यको राजा हुन पाए हुँदो हो भने मनोकांक्षा बोकेको कुरा आफ्नो दिव्योपदेशमा उल्लेख गरेको हुँदा उनको अभियानको थालनी गोर्खा राज्यको विस्तार गर्ने उद्धेश्यबाट प्रेरित रहेको अनुमान गर्न सकिन्छ। तर, उनले समुन्द्रपारिको साम्राज्यवादी शक्तिबाट जोगिन चालेका कदम, दिएका अभिव्यक्ति र नेपालको दीर्घकालीन अस्तित्व जोगाउनलाई बक्सेका उपदेशहरुले उनको उद्धेश्य केवल गोर्खा राज्यको बिस्तार मात्रै नभएर समग्र हिमवतखण्डमा विभिन्न टुक्रामा बिभाजित राज्यहरुलाई एकीकृत गर्नु नै रहेको स्पष्ट हुन्छ।

बाइसे चौबिसे राज्यको उदयसँगै टुक्रिन पुगेको बिशाल नेपाललाई जोड्ने अभियानको नेतृत्व तत्कालीन गोर्खा राज्य र पृथ्वीनारायण शाहले गरे भन्दा अत्युक्ति नहोला।

वास्तवमा उत्तरको बिशाल चिनियाँ साम्राज्य र दक्षिणमा समग्र दक्षिण एसियालाई निल्दै आइरहेको बृटिस साम्राज्यको बिच अनेकन टुक्रामा बिभाजित नेपाललाई एकीकृत गर्ने अभियान यदि पृथ्वीनारायण शाहले सुरु नगरेका भए सम्भवतः आज हामी विश्वमा नेपाली हुनुको गर्व गर्न पाउने थिएनौं।

आज आफ्नो सार्वभौमिकता गुमाएका सिक्किमेली दाजुभाइले जस्तै नेपाली भाषामा बोल्न पाइयोस् भन्दै आन्दोलन गरिरहेका हुन्थ्यौं होला।

पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणको आधारशीला तयार पारेर हामीलाई नेपाली हुनुमा गर्व गर्ने स्थिति सृजना गरिदिए। पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु भएको उक्त एकीकरण अभियान कुनै राज्य विशेष र जात विशेषको मात्रै अभियान नभएर तत्कालीन समयको माग थियो। स-साना राज्यहरुले आपसमा युद्व गरिरहँदा ठूलो धनजनको क्षति व्यहोर्नुपरिरहेको थियो।

युद्वका कारण ब्यापारीमाथि अस्वभाविक कर थुपारिएको थियो। भोट मधेस ब्यापार गर्दा राज्यपिछे कर तिर्नुपर्थ्यो। महङ्गी डरलाग्दो थियो, उपत्यका भित्रका प्रजाहरू त रात दिन युद्वको त्रासमा रहन्थे। त्यसैले समाजका सबै बर्ग क्षेत्रले एउटा बलियो र बिशाल राज्यको आवश्यकता अनुभूत गरिरहेको थियो।

त्यसैले पृथ्वीनारायण शाहको एकीकरण अभियानलाई अन्य राज्यका ब्यापारीदेखि सर्वसाधारणलेसमेत साथ दिएका थिए।

यस प्रकार तत्कालीन बस्तुस्थिति र सन्दर्भको ख्याल नगरि पृथ्वीनारायण शाह जन्मिनुभन्दा झण्डै एक सय वर्षपछि युरोपमा जन्मिएका मार्क्सले प्रतिपादन गरेको मान्यतामा टेकेर पृथ्वीनारायण शाह जन्मेको तीन सय वर्ष पछाडि वर्तमान सन्दर्भको कसिमा राख्दै उनलाई सामन्तवादको प्रतीक ठान्नु अनि बिसौ शताब्दीको उत्तरार्धमा पश्चिमा जगतमा देखिएका पहिचानवादी अवधारणामा टेकेर उनलाई जातिवादको तराजुमा तौलिनु भनेको मुलुकको वास्तविकता, आफ्नो मौलिक इतिहास र समय सापेक्षताको मान्यतालाई नकार्दै हामी सयौं थुङ्गा फूल स्वरूपी नेपालीलाई एक आपसमा जुधाएर आफ्नो स्वार्थ सिद्धी गर्न खोज्ने वैदेशिक शक्तिहरूले जबर्जस्त भिराइदिएको दोषी चस्माले आफ्नो इतिहास नियाल्नु नै हो।

जर्मनी र रसियाका जुङ्गे दारिवालहरूको तस्बिरमा अभिनन्दन गरेर पृथ्वीनारायणको सालिकमा हथौड़ा बजार्नु मुलुकको गौरवपूर्ण इतिहासमाथि गरेको अन्याय सिवाय केही हुन सक्दैन।

पृथ्वीनारायण शाहका दिव्योपदेशलाई नजिकबाट नियाल्ने हो भने यसमा एक्काइसौं शताब्दीका लोकतन्त्र र समावेशीताका मान्यता मात्रै भेटिदैनन् आर्थिक आत्मनिर्भरतादेखि सुशासनसम्मका मान्यता देख्न सकिन्छ।

कुनै पनि मुलुकको राज्य व्यवस्थाका आफ्ना मौलिक पक्ष र पाटाहरू हुने गर्छन्। नेपाल जस्तो विविध विविधतायुक्त र संबेदनशील भूगोल रहेको मुलुकमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहले दिएका दिव्योपदेशको आवश्यकता र औचित्य नेपालको सन्दर्भमा कदापि अन्त हुँदैन। हाल मुलुकमा देखिएका जातीय क्षेत्रीय द्वन्द्व, अराजकता, चरम भ्रस्टाचार, आर्थिक-राजनीतिक परनिर्भरता र सांस्कृतिक अतिक्रमणलगायतका चुनौतीहरु पृथ्वीनारायण शाहका माथि उल्लेखित दिव्योपदेश अनुरुप मुलुक सञ्चालन नगरेकै कारण देखिएका चुनौतीहरु हुन भन्ने कुरामा दुई मत हुन सक्दैन।

त्यसैले नेपालको मौलिकता र गौरवपूर्ण इतिहासको उच्च संमान गर्दै मुलुकलाई पुनः ‘पृथ्वीपथ’ मा डोर्‍याउन सके मात्रै मुलुकको हित र नेपाल एकीकरणका नायक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दिएको सच्चा श्रद्धा र श्रद्धाञ्जली ठहरिने छ। अस्तु। लेखक राप्रपाका केन्द्रिय सदस्य हुन् ।

थप जानकारी