राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ ६, २०७९

राप्रपाको विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउ भन्नु गैरसंवैधानिक: अध्यक्ष लिङ्देन

आइतवार, ९ माघ २०७८ १२:५५

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगले राप्रपा पार्टीको विधानबाट राजसंस्था र सनातन हिन्दू राष्ट्र भन्ने शव्द हटाउ भन्नु नै गैरसंवैधानिक भएको बताएको छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोग नै संविधानको मर्म र भावना विपरीत गएको भन्दै आफूहरुले त्यही जवाफ लेखेर पठाउने बताए । आयोगले संविधानको प्रस्तावना र भावना प्रतिकूल भएको भन्दै राप्रपालाई विधानमा राजसंस्था र सनातन हिन्दू राष्ट्र भन्ने शव्द हटाउन पत्र पठाएको थियो ।

यसैबारे आज छलफल गर्न अध्यक्ष लिङ्देनले पदाधिकारी बैठक समेत बोलाएका छन् । राप्रपा केन्द्रिय कार्यालयमा दिउँसो एक बजे पदाधिकारी बैठकपछि आयोगलाई पत्र पठाउने बताइएको छ ।

निर्वाचन आयोगको कदम संविधानको मर्म र भावना विपरीत छ । संविधानमा सशस्त्र गतिविधि गर्ने राजनीतिक दल खोल्ने बाहेक वैचारिक आधारमा कुनै पनि दलहरुलाई प्रतिबन्ध लगाइने छैन भन्ने व्यवस्था भएको हुँदा निर्वाचन आयोगको प्रश्न नै संविधान विपरीत भएको ठहर छ ।

यसभन्दा अघि पनि २०७३ सालमा राप्रपाको एकता महाधिवेशनले पारित गरेको विधानमा उल्लेखित हिन्दू राष्ट्र एवं राजसंस्था सम्बन्धी वाक्यांशहरु हटाएर निर्वाचन आयोगले विधान प्रमाणित गरेको थियो ।                                                                                                                  निर्वाचन आयोगको पत्र     

थप जानकारी