राष्ट्र हितमा समर्पित
मङ्गलवार, साउन ८, २०८१

ज्ञानेन्द्र शाही राप्रपामा, देशमा ध्रुवीकरण शुरु भइसकेको छ: राप्रपा अध्यक्ष लिङ्देन

शुक्रवार, ६ फागुन २०७८ १५:५७

६ फागुन, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई सीमित दल र दलका नेताले ३१ वर्षदेखि बन्धक बनाइरहेकाले यसबाट मुक्तिका लागि राष्ट्रवादी आन्दोलनको जरुरत भएको बताएका छन् ।

आज काठमाडौंमा ज्ञानेन्द्र शाही नेतृत्वको सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियानलाई राप्रपामा स्वागत गर्दै अध्यक्ष लिङ्देनले यथास्थितिको निरन्तरता चाहने र यथास्थितिमा परिवर्तन चाहने शक्तिका बीच ध्रुवीकरण आवश्यक रहेको बताएका छन् ।

अध्यक्ष लिङ्देनले देशमा ध्रुवीकरणको प्रारम्भ भइसकेको बताउँदै कांग्रेस र कम्युनिस्टमा रहेका देशभक्त राष्ट्रवादीहरु राप्रपामा आबद्ध हुन ढिला नगर्न पनि अपिल गरेका छन् । राप्रपाको सदस्य भएर सिद्धान्तबाट विचलित हुने, सत्ता, शक्ति, भ्रष्टाचार र स्वार्थको पक्षमा रहने तथा गणतन्त्र र धर्म निरपेक्ष मनमा बोकेर हिड्नेहरु विस्तारै अर्को कित्तामा लाग्न सक्ने सम्भावना छ, लिङ्देनले भने- “समान विचार भएकाहरुलाई एकजुट बनाउँदै बलियो राप्रपा बनाउने अभियान थालिएको छ ।”

राप्रपाको सदस्य भएर कसैले पश्चाताप वा हिनताबोध गर्नु नपर्ने बताउँदै लिङ्देनले राप्रपालाई वैकल्पिक होइन राष्ट्रको मुल शक्ति बनाउन सकिने दाबी गरेका छन् । कार्यक्रममा हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीले अभियानलाई औपचारिक रुपमा राप्रपा समाहित गरेको घोषणा गरेका थिए । शाहीले देशका तमाम मुद्दा बोकेर सडकमा कराउँदा पनि राज्य संयन्त्रले दबाब महशुस नगरेको र सुनुवाइ नभएको भन्दै राजनीति शुद्धीकरण गर्दै उद्देश्य प्राप्तिका लागि राप्रपामा समाहित भएको बताए ।

देशमा धेरै राजनीतिक दलहरू भएतापनि राष्ट्रियता, प्रजातन्त्र, सुशासन, समावेशीता र नेतृत्व राप्रपामा तुलनात्मक रुपमा सहि भएकाले आफू र आफ्नो नेतृत्वको अभियान राप्रपामा समाहित भएको बताए । पार्टी समायोजन कार्यक्रममा राप्रपाका उपाध्यक्ष ध्रुब बहादुर प्रधान, रोशन कार्की, हेमजङ्ग गुरुङ लगायतले बलियो राप्रपा र राप्रपाको नेतृत्वमा राष्ट्रवादी आन्दोलनको अपरिहार्यतामा जोड दिएका थिए ।

थप जानकारी