राष्ट्र हितमा समर्पित
मङ्गलवार, साउन ८, २०८१

राप्रपामा पूर्व महासेनानी कार्कीको अध्यक्षतामा पूर्व सैनिक परिषद गठन

मङ्गलवार, १ चैत्र २०७८ २१:४९

काठमाडौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ०६२/६३ पछि तय गरिएको राजनीतिक मार्गचित्र पूर्णरूपले असफल भएकाले देशभक्त राष्ट्रवादी शक्तिको तागतबाट ‘कोर्स करेक्सन’गरिनुपर्ने बताएका छन् ।

आज काठमाडौंमा आयोजित राप्रपा निकट भूतपूर्व सैनिकहरुको संगठन भूतपूर्व सैनिक परिषद (राप्रपा) को घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशमा भ्रष्टाचार, बेथितिदेखि जनजीवन असामान्य र विकराल बन्दै गएकाले देशमा यथास्थितिमा परिवर्तनको आवश्यकता रहेको औंल्याएका छन् ।

नेपाली सेनामा काम गरेका राष्ट्रसेवकहरु देशभक्त राष्ट्रवादी भावनाले ओतप्रोत हुने र सेवाबाट निवृत्त भएपछि राष्ट्र निर्माणमा योगदान दिनुपर्ने लिङ्देनले बताएका छन् । लिङ्देनले ठूला राजनीतिक दलका गलत क्रियाकलाप र अकर्मण्यताले देशको विकास, समृद्धि र जनचाहना ओझेलमा पर्दै गएकाले अब देशभक्त नागरिक एकजुट भइ तागत निर्माण गर्नुपर्ने उल्लेख गरेका छन् ।

राप्रपा शान्तिपूर्ण देशभक्तिको आन्दोलनमा अनवरत क्रियाशील भइरहेको छ, लिङ्देनले भने- ‘प्रजातान्त्रिक बाटोबाट देशमा परिवर्तन सम्भव छ, आसन्न स्थानीय तहको निर्वाचनलाई आन्दोलनको रुपमा उपयोग गरौं ।’
राप्रपाले भूतपूर्व सैनिकको संगठनको रुपमा अवकाश प्राप्त महासेनानी प्रकाश जङ्ग कार्कीको अध्यक्षतामा भुतपुर्व सैनिक परिषद (राप्रपा) को १०१ सदस्यीय कार्य समिति घोषणा गरेको छ ।

परिषदको सह अध्यक्षमा अप्रा प्रसे डिबि थापा, सातवटा प्रदेशको प्रतिनिधित्व रहने गरि उपाध्यक्ष तथा इन्चार्जहरु, प्रदेश नं १ मा अप्रा प्रसे चन्द्रप्रसाद चापागाईं, मधेस प्रदेशमा अप्रा प्रसे रामबहादुर थापा, बागमती प्रदेशमा अप्रा प्रसे लवराज थापा मगर, गण्डकी प्रदेशमा अप्रा प्रसे रामकाजी राना मगर, लुम्बिनी प्रदेशमा अप्रा सेनानी इश्वरी प्रसाद पाण्डे, सुदुर पश्चिम प्रदेशमा अप्रा प्रसे इश्वर थापा छन् । यसैगरी सचिवमा अप्रा क्याप्टेन केवेन्द्र जङ्ग गुरुङ, अप्रा प्रसे सानुराम कटवाल, अप्रा सुक सुवर्ण रोक्का, अप्रा सुक तानास शर्मा, रामबहादुर कार्की र कोषाध्यक्षमा अप्रा सुक विष्णु बहादुर गिरी रहेका छन् ।

थप जानकारी