राष्ट्र हितमा समर्पित
मङ्गलवार, साउन ८, २०८१

लिङ्देन हेटौंडामा गर्जिए : राप्रपालाई असफल हुने छुट छैन

आइतवार, २७ चैत्र २०७८ २२:१८

२७ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिस्टको विकल्पको रुपमा जनताको भरोसा प्राप्त गरिरहेको शक्ति राप्रपालाई असफल हुने छुट नभएको बताएका छन् । राप्रपा मकवानपुरले हेटौंडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले अन्य राजनीतिक दललाई असफल हुने छुट भएपनि राप्रपालाई छुट नभएको बताएका हुन् ।
उनले देश आर्थिक संकटको दिशातर्फ अघि बढिरहेको बेला अहिले सत्ता गठबन्धनका राजनीतिक दलले देशलाई संकटबाट जोगाउन कुनै योजना नबनाएको र वित्तीय अस्थिरता सिर्जना गर्न खोजिरहेको आरोप लगाए ।

‘पटक पटकको आन्दोलन तथा झुटा भाषणबाट ल्याएको व्यवस्था परिवर्तन भयो तर नेपाली जनताको अवस्था परिवर्तन भएन,’ उनले भने, ‘सीमित राजनीतिक दलले देशलाई बन्धक बनाएर राखेका छन् ।’ ०६२/६३ पछि देशले अवलम्बन गरेको गलत मार्गचित्र र त्यो मार्गचित्रका वाहक राजनीतिक दलका सीमित नेताहरुको अदूरदर्शीताले गर्दा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको उनले आरोप लगाए । अहिले देशको कुनै पनि वर्ग खुशी नभएको बताउँदै लिङ्देनले देशका पचासौं लाख युवा वैदेशिक रोजगारमा जानु दु:खदायी भएको बताए ।

अहिलेका ठूला भनिएका दलका लुट्न नसकेका कार्यकर्ता पनि खुसी छैनन्,’ उनले भने, ‘भ्रष्टाचारबाट कमाएको पैसाको नोट भ्रष्ट नेताको घरमा छ ।’ विदेशबाट लिइएको ऋण अनुत्पादक क्षेत्रमा खर्च गरिएको उनको आरोप छ ।
आमसभालाई महामन्त्री भुवन पाठक, राजेन्द्र गुरुङ, नेतृ रेखा थापा, नेता मधु अधिकारी, राम थोकर, नवराज विष्ट, रामहरि न्यौपाने, बिशभ अधिकारी, शुक्र प्रजा, इन्दिरा न्यौपाने, सागर थापा लगायतले सम्बोधन गरेका थिए ।

थप जानकारी