राष्ट्र हितमा समर्पित
मङ्गलवार, साउन ८, २०८१

राप्रपा तनहुँले विस्तारित बैठक गरि जनताको माझमा राप्रपा र घरदैलो शुरुआत

मङ्गलवार, २९ चैत्र २०७८ ७:३७

दमौली । राप्रपाले आज देशका ७७ वटै जिल्लामा स्थानीय तहको निर्वाचनलाई लक्षित गरि जनताको माझमा राप्रपा कार्यक्रम र घरदैलो अभियान प्रारम्भ गरेको छ ।
बारामा आयोजित आमसभालाई सम्बोधन गर्न कलैया पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव लक्षित कार्यक्रमको पनि शुभारम्भ गर्नुभएको छ । पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिले तय गरेको केन्द्रीय कार्यक्रमलाई राप्रपाले तराई मधेसमा पुगेर शुभारम्भ गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राप्रपाले अभियान सञ्चालनलाई उच्च महत्व दिदै ७७ वटै जिल्लामा पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यलाई केन्द्रीय प्रतिनिधि खटाएको थियो । यसक्रममा राप्रपा तनहुँले सदरमुकाम तनहुँमा पार्टीको विस्तारित बैठक गर्दै घरदैलो अभियानको शुभारम्भ गरेको छ । केन्द्रीय प्रतिनिधिको रुपमा तनहुँमा खटिएका पार्टीका प्रवक्ता मोहन श्रेष्ठ र केन्द्रीय सदस्य दिनेश कार्कीको उपस्थितिमा भएको विस्तारित बैठकमा जिल्लाको समग्र संगठनको अवस्था, स्थानीय तहका उमेदवार छनौट, टोल समिति, बुथ कमिटी निर्माण लगायतका विषयमा छलफल भएको छ भने जिल्ला अन्तर्गतका नगर र गाउँपालिकाले प्रतिवेदन पेश गरेका छन् ।

विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले जनताको परिवर्तनको चाहनालाई राप्रपाले सम्बोधन गर्नुपर्ने इतिहासको महत्त्वपूर्ण कार्यभार भएको बताएका छन् । श्रेष्ठले चुनाव जित्न सक्ने र नसक्ने ठाउँको वर्गीकरण गरि जित्न नसक्ने ठाउँको मत खेेर नफाल्ने गरि रणनीति बनाउनुपर्नेमा जोड दिएका छन् । लोकप्रिय मत पार्टीले जम्मा गर्नुपर्नेछ, हामीले हेलचक्रयाइँ गर्नु हुदैन, श्रेष्ठले भने । यसैगरी केन्द्रीय प्रतिनिधि केन्द्रीय सदस्य दिनेश कार्कीले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको राप्रपामा नेतृत्व र पार्टी प्रति दिनप्रतिदिन आकर्षण बढिरहेको र जनताको आकर्षणलाई भोटको शक्तिमा रुपान्तरण गर्न आवश्यक रहेको बताएका छन् ।

विस्तारित बैठक पछि राप्रपाले सदरमुकाम दमौली बजारमा घरदैलोको शुरुआत गरेको छ । स्थानीय तहले निर्वाचनमा राप्रपालाई मतदान गर्न अपिल गरिएको राप्रपाको पत्र स्थानीयलाई वितरण गरिएको थियो । त्यस अवसरमा राप्रपाले चुनाव लक्षित नारा लगाउदै बजार परिक्रमा गरेको थियो । राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले आज जिल्लामा शुभारम्भ गरिएको घरदैलो तथा चुनाव लक्षित कार्यक्रमलाई सबै स्थानीय तहसम्म सञ्चालन गरिने र आगामी चुनावमा राप्रपाले केही स्थानमा बिजय प्राप्त गर्ने र अधिकांश स्थानमा सम्मानजनक परिणाम ल्याउने पार्टीले तयारी गरिरहेको बताएका छन् ।

विस्तारित बैठक र घरदैलोमा केन्द्रीय प्रतिनिधि प्रवक्ता श्रेष्ठ, केन्द्रीय सदस्यहरु कार्की, गौमाया श्रेष्ठ, गण्डकी प्रदेश कार्यसमितिका सदस्यहरु, राप्रपा तनहुँका पदाधिकारी, सदस्यहरु, भातृ संगठनका नेताहरू, सबै स्थानीय तहका अध्यक्ष तथा अगुवा कार्यकर्ताो उपस्थिति रहेको थियो ।

थप जानकारी