राष्ट्र हितमा समर्पित
मङ्गलवार, साउन ८, २०८१

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपाल पुगे भारतीय दूतावास

बुधवार, ३० चैत्र २०७८ १०:०६

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका दुईजना पूर्वप्रधानमन्त्रीहरु भारतीय राजदूतलाई विदाइ गर्न भारतीय राजदूतकै निवासमा पुगेका छन् । मंगलबार साँझ प्रधानमन्त्री देउवासहित सत्तारुढ गठबन्धनका नेताहरु पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाल भारतीय राजदूतको निवास लैनचौर पुगेका थिए ।

उनीहरु बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठकका नाममा बालुवाटार भेला भएका थिए । त्यही बैठकबाट उठेर उनीहरु सोझै लैनचौर पुगेका हुन् ।

भारतीय राजदूत विनयमोहन क्वात्रा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कदै छन् । उनले नेपालका प्रमुख राजनीतिक दलका मुख्य नेताहरुलाई बोलाई विदाइ भोज आयोजना गरेका थिए । उनको भोजमा नेकपा एमालेका अध्यक्ष केपी ओलीचाहिँ देखिएका छैनन् । तर, एमालेबाट पूर्वसभामुख सुवास नेम्बाङ्गले प्रतिनिधित्व गर्दै त्यहाँ पुगेका देखिएका छन् । उनीहरुलाई राजदूत क्वात्राले स्वागत गरेका थिए ।

एउटा राजदूतको विदाइमा नेपालका वाहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरु लाइन लागेर दुतावास पुगेको यो घटनाले कुटनीतिक क्षेत्र आश्चर्यचकित भएको छ । मुलुकलाई नै लज्जावोध हुनेगरी तीनजना प्रधानमन्त्रीहरु भारतीय राजदूतको निवासमा राजदूतलाई विदाइ गर्न पुग्दा सामाजिक सञ्जालमा समेत तीब्र प्रतिक्रिया उत्पन्न भएको छ ।

कुटनैतिक मर्यादाअनुसार विदाइ भएर जाने राजदूत प्रधानमन्त्रीलाई भेट्न उनको कार्यालय वा निवासमा समय मिलाएर जाने गर्दछन् । पूर्वप्रधानमन्त्रीहरुलाई पनि राजदूतले आवश्यक ठाने उनीहरुकै निवासमा वा कार्यालयमा भेट्न जानुपर्ने हुन्छ । तर, भारतीय राजदूत क्वात्राले काम सकेर हिड्ने बेलामा पनि आफ्नो शक्ति प्रदर्शन गरेका छन् । उनले तीनजना प्रधानमन्त्रीहरुलाई आफ्नै निवासमा बोलाएर विदाइ लिएका छन् ।

यो घटनाले वर्तमान सरकार भारतप्रति कति सम्म झुक्नसक्छ भन्ने पनि देखाएको छ । एउटा राजदूतको विदाइमा मुलुकको इज्जत र कुटनीतिक मर्यादालाई सजिलै छोड्न सक्छ भन्ने यो घटनाले देखाएको छ । प्रधानमन्त्री देउवा भरखर भारत भ्रमण गरेर फर्किएका छन् र उनलाई भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलले वनारसमा लन्चको समयमा भेटेर नेपालमा तत्काल स्थानीय चुनाव रोक्नुपर्ने दवावपूर्ण सल्लाह दिएका थिए ।

गोयलले सत्ता गठबन्धनले साझा उम्मेद्वार पनि दिन नहुने र कांग्रेस एक्लै नै चुनावमा जानुपर्ने धारणा राखेका थिए । प्रचण्ड र माधव नेपाल दुबै भारत विरोधी नभएको र उनीहरुलाई साथै लिएर हिड्दा भारतलाई पनि फाइदा हुने र त्यसको जिम्मा आफूले लिने भन्दै देउवाले गोयललाई कन्भिन्स गराउन खोजेका थिए ।

यो विदाइ पार्टीमा देउवाले प्रचण्ड र नेपाललाई समेत लिएर दूतावास पुगेको कुराले त्यसलाई प्रमाणित गरेको छ । त्यसो त माधव नेपाल र सत्ता गठबन्धनका नेताहरुले स्थानीय चुनाव सार्नुपर्ने कुरा सार्वजानिक गरिसकेका छन् ।

थप जानकारी