राष्ट्र हितमा समर्पित
आइतवार, आषाढ १९, २०७९

राप्रपाका उम्मेदवारलाई भेला गरेर लिङ्देनले भने- भ्रष्टाचार गर्दिनँ भन्नुस्

बुधवार, १४ बैशाख २०७९ १३:०८

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं, ललितपुर र भक्तपुरभित्र रहेका स्थानीय तहमा पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवारहरूलाई बोलाएर उच्च मनोबलका साथ चुनावमा होमिन निर्देशन दिएका छन्।

उनले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार उम्मेदवार भेला गरेर राप्रपाले अब शक्ति देखाउने बेला आएको बताएका थिए।

‘राप्रपाले शक्ति देखाउने अवसरको रुपमा आगामी स्थानीय तहको निर्वाचनलाई लिएको छ। राप्रपा अगाडि बढ्यो अब कसैले रोक्न सक्दैन,’ उनले भने, ‘राप्रपा बन्द कोठामा सीमित हुने पार्टी होइन, जनताको मन मस्तिष्कमा बसेको पार्टी हो।’ उनले राप्रपा हुन्छु भनेर कल्पना पनि नगर्नेहरू अहिले पार्टी प्रवेश गरिरहेको दाबी गरेका थिए।

‘हालको जनलहर कायम राख्दै अकल्पनीय परिणाम निकाल्न सक्छौं,’ उनले भने, ‘उच्च मनोबल सहित निर्वाचनमा जान उमेदवारलाई निर्देशन दिन्छु।’ उनले नेपालको विकृत राजनीतिमा सुधार ल्याउने अठोट राप्रपाले लिएको पनि बताएका थिए।

‘देशमा विद्यमान राजनीतिक विकृतिको कुरा उठाउनु, राप्रपाले भ्रष्टाचारको जरैदेखि अन्त्य गर्न चाहन्छ, मतदातालाई विश्वास दिलाउनु,’ उनले भने, ‘हाम्रा घोषणापत्र बारे स्पष्ट भएर जनतामा जानुस्। अन्य दलको भन्दा स्मार्ट घोषणापत्र राप्रपाको छ। नसक्ने हावादारी कुरा गरेको छैनौं।’ अध्यक्ष लिङ्देनले ‘भ्रष्टाचार गर्दिनँ, बेइमानी गर्दिनँ भनेर मानसिक रुपमा तयार हुनसमेत उम्मेदवारहरूलाई आग्रह गरेको’ प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

थप जानकारी