विराटनगर । नेपाल–भारतको सीमा क्षेत्र विराटनगर – १८ इस्लामपुरमा भारतीय सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । स्थानीयले दिएको जानकारी अनुसार सीमा सुरक्षामा खटिएका भारतीय एसएसबीले तीन राउण्ड हवाई फायर गरेका हुन् ।
सोमबार २ बजे डियुटिमा खटिएका भारतीय एक एसएसबीले दुई राउण्ड जमिन र एक राउन्ड आकाशतिर हवाई फायर गरेको विराटनगर १८ का इस्लामपुरका स्थानीय सुरज मण्डलले जानकारी दिए । स्थानीयका अनुसार डियुटिमा खटिएका एसएसबीले मदिरा सेवन गरेका थिए ।
‘होहल्ला गरेपछि स्थानीयले उनलाई घेराउ गरेका थिए । स्थानीयको भिड बढेपछि आफ्नो सुरक्षाको लागि भन्दै हवाई फायर गरेको हुनसक्छ,’ सीमा क्षेत्रमा खटिएका एक सुरक्षाकर्मीले भने । हवाई फायरबाट कुनै मानवीय क्षति भने भएको छैन ।
मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दशगजा क्षेत्रमा गोली चलेको पुष्टि गरेका छन् । ‘गोली चलेको नेपालतिर होइन भारतीय क्षेत्रमा हो,’ एसपी कोइरालाले भने, ‘के विषयमा चलेको रहेको छ । हामीले पनि बुझ्ने काम गरिरहेका छौँ ।’ अहिले गोली चलेको ठाउँमा स्थानीयको भिड लागेको छ ।