राष्ट्र हितमा समर्पित
आइतवार, आषाढ ३१, २०८१

जोखिममा कृष्ण सिटौला, गठबन्धनमा गडबड, माओवादीका १३४ जनाद्वारा राजीनामा

सोमवार, २८ कार्तिक २०७९ १९:४२

झापा । निर्वाचन नजिकिँदै गर्दा झापा-३ मा १३४ जना माओवादी केन्द्रका नेताकार्यकर्ताले पार्टी परित्याग गरेका छन् । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटी सदस्य तथा झापा क्षेत्र नम्बर ३ ‘ख’ का इन्चार्ज मर्गुव आलमसहितको नेता कार्यकर्ताले पार्टी परित्याग गरेका हुन्।

आलमसहितको राजीनामाले राप्रपाका उमेदवार राजेन्द्र लिङ्देनलाई लाभ पुग्ने अनुमान गरिएको छ। गठबन्धनको विवादले कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई जोखिम थपिने बताइएको छ। माओवादी केन्द्रबाट राजीनामा दिनेहरूमा झापा जिल्ला सदस्य कृष्ण मोहन गौतम, देवी प्रसाद रेग्मी, बसन्त कुमार गनेश, अजमुदिन मिया, साहा आलम, महमद करिमसहितका छन्।

पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग रहँदै पार्टी परित्याग गरिएको प्रदेश कमिटी सदस्य आलमले जानकारी दिए। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मुखैमा बाह्रदशी गाँउपालिकाका ठूलो संख्यामा राजीनामा दिएसँगै सत्ता गठबन्धनका उमेदवारलाई ठूलो असर पर्ने देखिन्छ। जनयुद्धको भावना बाहिर गएर नेतृत्वले अनेक सम्झौता गरेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

पार्टीको नातावाद, कृपावाद, यथास्थितिबाद, हैकमवाद र हेपाहा प्रवृतिको कारण आफुहरुले राजीनामा दिएको नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा झापा क्षेत्र ३ ‘ख’ का इन्चार्ज मर्गुब आलमले बताए। राजीनामा दिनेहरू सबैले स्वतन्त्रको हैसियतमा स्वविवेक प्रयोग गरी मतदानमा सहभागी हुने पनि बताएका छन्।

यस क्षेत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र कांग्रेसका सिटौला मुख्यप्रतिस्पर्धीको रुपमा चुनाव लड्दैछन्।

थप जानकारी