राष्ट्र हितमा समर्पित
मङ्गलवार, आषाढ ५, २०८१

डेढ दशकयता नेपालीमा उत्साह छैन: राजा ज्ञानेन्द्र शाह

शनिवार, ४ कार्तिक २०८० १४:५६

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले डेढ दशकयता नेपालीमा उत्साह नभएको उल्लेख गर्दै लोकहित र अग्रगतिको नाममा आएको परिवर्तनले देश झन् खराबीतिर गएको भन्ने आमगुनासो रहेको बताएका छन्।

विजयादशमीका अवसरमा देश र विदेशमा रहेका नेपालीलाई शुक्रबार शुभकामना दिँदै राजाले नेपालरुपी सुन्दर बगैँचालाई सजाउनु सबैको साझा दायित्व रहेको बताएका छन्।

संवाद सचिवालयद्वारा जारी विज्ञप्तिमा राजाले एकतिहाइ जनसंख्या देशबाहिर रहेको उल्लेख गर्दै भनेका छन्, ‘महँगी, रोग, शोक, र भोकको ताप छ। हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हतासमा छन्। हामी निरन्तर परनिर्भर हुँदै जानुले हाम्रो आर्थिक अवस्था जर्जर बन्दै गएको छ। लोकहित र अग्रगतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गर्‍यो न सुधार आयो। हाम्रो देश झन् झन खराबीतिर गयो भन्ने आम जनगुनासो हाम्रा गाउँ, सहर, लेक, बेंसी, कुना, कन्दरा सबैतिर सुनिन्छ।’

उनले कसैले कसैप्रति निषेध र निन्दा नगर्ने, सबैले सबैको आस्थाउपर उदारभाव राख्न प्रयत्न हुनैपर्ने उल्लेख गर्दै सद्भाव बिनाको राष्ट्रको परिकल्पनासमेत गर्न नसकिने पनि बताएका छन्। राजा शाहले नवदुर्गा भवानीले राष्ट्र र राष्ट्रवासीको हित चिन्तन गर्ने सद्बुद्धि प्रदान गरुन् भन्ने कामना पनि गरेका छन्।

उनले हामी सबै स्वतन्त्र र सार्वभौम राष्ट्रका होनहार सन्तति भएको उल्लेख गर्दै दसैँले हामीलाई सही र सत्य देवी शक्तिको सम्बर्द्धन गर्न प्रेरणा प्रदान गर्ने बताएका छन्। सबै नेपाली भएको र यो साझा फूलबारीको माली बनेर यो सुन्दर बगैँचाको संरक्षण गर्नु नेपालीको दायित्व रहेकोसमेत राजाले बताएका छन्।

राजाको शुभकामना सन्देशमा भनिएको छ-

प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाइहरू,

नेपालीहरूको महान् राष्ट्रिय पर्व बडा दसैँ हाम्रा घर आँगनमा आइपुगेको छ । असत् माथि सत्को विजय दर्साउने यो पर्वले हामीलाई सही, सत्य देवी शक्तिको संवर्द्धन गर्न प्रेरणा प्रदान गर्दछ । देश तथा विदेशमा रहे बसेका सबै नेपालीहरूमा हामी मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

हिमाल, पहाड र तराइमा बसोबास गर्ने जो विविध वर्ग, समुदाय र विभिन्न सनातनी संस्कृति जे जुन भित्र रहे पनि अन्ततः हामी सबै नेपाली हौँ । यो साझा फूलबारीलाई सजाउनु, सिंगार्नु अनि यसको माली बनेर यो सुन्दर बगैँचाको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो । हामी सबै स्वतन्त्र सार्वभौम नेपाल राष्ट्रका होनहार सन्तति हौँ भन्ने हेक्का हामीमा रहनै पर्दछ । कसैले कसैप्रति निषेध र निन्दा नगर्ने सबैले सबैको आस्था उपर उदारभाव राख्न हाम्रो प्रयत्न हुनै पर्दछ ।

धर्ममा नम्रता, संसारमा जस्तै महिमाको बाटो हो । अभाव र भेदभाव नेपालीपन होइन । सद्भाव विनाको राष्ट्र परिकल्पना पनि गर्न सकिँदैन ।

डेढ दशक यताका अवधिमा नेपाली उतिविधी उत्साहमा छैनन्, हर्षित छैनन् । हाम्रो एक तिहाइ जनसङ्ख्या देश बाहिर छ । विदेशिएका र देशमै रहे बसेका दुवै थरीमा बिछोडको पीडा छ । महँगी, रोग, शोक, र भोकको ताप छ । हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हताशमा छन् । हामी निरन्तर परनिर्भर हुँदै जानुले हाम्रो आर्थिक अवस्था जर्जर बन्दै गएको छ । लोकहित र अग्र गतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गयो, न सुधार आयो । हाम्रो देश झन् झन् खराबी तिर गयो भन्ने आम जनगुनासो हाम्रा गाउँ, सहर, लेक, बेसी, कुना कन्दरा सबैतिर सुनिन्छ ।

व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्वन्द्व, चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित छन् । यस्तो अवस्थामा जनताले उत्साह, उल्लास र उमङ्गका साथ चाडबाड मनाउन पाउनु त कता कता साँझ बिहानको जीवन यापन पनि कष्टकर बन्दै गएको त छैन ?

जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनु पर्दछ । देश र जनता माथि अब कुनै प्रकारको घात हुनु हुँदैन – हाम्रो यही चाहना हो ।

श्री नवदुर्गा भवानीले हामी सबैलाई राष्ट्र र राष्ट्रवासीको हित चिन्तन गर्ने सद्बुद्धि प्रदान गरून् ।

जय नेपाल ।

मिति २०८० कार्तिक ३ गते

थप जानकारी