राष्ट्र हितमा समर्पित
मङ्गलवार, आषाढ ५, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ गते सुनुवाइ हुने

बिहिवार, २१ मंसिर २०८० ९:२१

काठमाडौँ, मङ्सिर २० गते । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि मङ्सिर २८ गते सुनुवाइ हुने भएको छ ।

उक्त अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा यही मङ्सिर १५ गते राय बाझी निर्णय सुनाएपछि उक्त विवादलाई तेस्रो न्यायाधीशसमक्ष पेस गरी सुनुवाइ गर्ने तय भएको थियो ।

न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर गरी र ३० लाख धरौटीमा छाड्ने राय दिनुभएको थियो भने न्यायाधीश खरेलले धरौटीमा छाड्न नमिल्ने राय दिनुभएको थियो । उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार पूर्वमन्त्री खाणको मुद्दामा दुई न्यायाधीशको राय बँझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार यही मङ्सिर २८ गते एकल इजलासमा सुनुवाइ गर्ने तय भएको छ ।

अदालतले उक्त विवादमा नौ जना प्रतिवादीको हकमा थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो भने छ जना प्रतिवादीको हकमा थुनामै राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो । त्यसैगरी, लक्ष्मी महर्जन, आशिष् बुढाथोकी, टङ्ककुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेखमै थुनामुक्त गर्ने आदेश गरेको थियो । रासस

थप जानकारी