एजेन्सी
बीबीसी– यो वर्ष विश्वभर विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने दिग्गजहरुलाई नोबेल पुरस्कार प्रदान गरिएको घोषणाको सिलसिला सकिएको छ । नोबेल पुरस्कारको सबैभन्दा चर्चित र अन्तिममा प्रदान गरिने पुरस्कारको प्रतिक्षा पनि अन्त्य भएको छ ।
सन् २०१८ को नोबेल शान्ति पुरस्कार युद्धमा बलात्कारलाई हतियारको रुपमा प्रयोग गर्ने प्रचलनविरुद्ध अभियान चलाउने नदिया मुराद र डेनिस मुक्वेगेलाई प्रदान गरिएको छ । सन् १९०१ मा शुरु भएपछि शान्तिको क्षेत्रमा ९८ नोबेल पुरस्कार दिइसकेको छ । हरेक वर्ष डिसेम्बर १० मा विशेष कार्यक्रममाझ यो पुरस्कार विजेतालाई प्रदान गरिन्छ ।
पहिलोपटक यो पुरस्कार रेडक्रसका संस्थापक जँ हेनरी ड्यूनाटलाई प्रदान गरिएको थियो । १९ पटक यो पुरस्कार कसैलाई प्रदान गरिएन । त्यस्तै कुल २७ पटक यो पुरस्कार व्यक्तिलाई नभएर संस्थालाई दिन उपयुक्त सम्झिइयो ।
हरेकवर्ष यो विधाको पुरस्कार घोषणा अघिपछि विश्वभर र विशेष भारतमा एउटा प्रश्नमाथि वहस हुने गर्छ । त्यो प्रश्न हो आखिर आधुनिक युगका शान्तिका सबैभन्दा ठूला दु्रत महात्मा गान्धिलाई यो पुरस्कार किन दिइएन ? नोबेल कमिटीले यसबारेमा कहिल्यै पनि टिप्पणी गरेको छैन ।
तर आमरुपमा मानिसहरुमा यो बुझाई रहेको छ कि नोबेल कमिटीले गान्धीलाई यो पुरस्कार दिएर तत्कालिन अंग्रेज साम्राज्यसँग दुष्मनी मोल्न चाहेन । तर पछिल्लो समय प्राप्त भएका केही दस्ताबेजहरुले नोबेल कमिटीमाथि ब्रिटेन सरकारको तर्फबाट कुनै खालको दबाव नरहेको उजागर भएको छ ।
चाट पटक नामांकित भएको थियो गान्धीको नाम
नोबेल शान्ति पुरस्कारको लागि माहात्मा गान्धीको नाम चार पटक नामांकित भएको थियो । उनको नाम सन् १९३७, सन् १९३८ र सन् १९३९ मा लगातार नामांकित भएको थियो । त्यसपछि सन् १९४७ मा पनि उनको नाम पुरस्कारको लागि नामांकन भयो ।
अन्तिम पटक सन् १९४८ मा उनको नाम सिफारिस गरिएको थियो । तर त्यसको मात्र चार दिन पछि उनको हत्या भयो । पहिलो पटक नर्वेका सांसदले उनको नाम सिफारिस गरेका थिए तर पुरस्कार दिने समयमा उनलाई नजरअन्दाज गरियो ।
त्यो समयको उपलब्ध दस्ताबेजमा नोबेल कमिटीका एक सल्लाहकार ज्याकोब वारमुलरले गान्धीलाई पुरस्कार दिनेबारेमा आफ्नो असहमति व्यक्त गरेका छन् ।
उनले लेखेका छन् ‘गान्धी अहिंसाको आफ्नो नीतिमा सधैं अढिग रहेनन् र गान्धीले अंग्रेज शासनविरुद्ध आफूले लिएको अहिंसात्मक प्रदर्शन जुनसुकै बेला हिंस्रक हुन्छ भनेर कहिल्यै पनि मतलब गरेनन्’ । (पछि प्राप्त ऐतिहासिक विवरणहरुले यो आरोप निराधार रहेको साबित गर्यो ।
‘हामीले अहिंसाको पाठ गान्धीबाटै सिकेका हौं : मण्डेला र लुथर किंग’
ज्याकोभ वारमुलरले गान्धीबारे थप लेखेका छन्कि गान्धीको अभियान भारतीय राष्ट्रियतामा मात्र सिमित रह्यो ।
ज्याकोभले यहाँसम्म आरोप लगाएका छन्कि दक्षिण अफ्रिकामा भएको गान्धीको आन्दोलन पनि भारतीय मानिसहरुको हितमा मात्रै सिमित रह्यो । उनले भारतीयहरु भन्दा पनि दयनीय जीवन गुजारिरहेका अश्वेतहरुको लागि केही पनि गरेनन् ।
तर विडम्बना यो हो कि जब मार्टिन लुथर किंग र नेल्सन मण्डेलाजस्ता अश्वेतहरुको अधिकारको लागि लड्ने नेताहरुलाई शान्तिको लागि नोबेल पुरस्कार दिइयो उनीहरुले गान्धीबाट यसको पाठ सिकेको बताए ।
सन् १९४७ को नोबेल शान्ति पुरस्कारको लागि ६ जनाको मात्र नामांकन भएको थियो । त्यसमा गान्धीको नाम पनि शामेल थियो । तर भारत विभाजनपछि पत्रिकाहरुमा छापिएको गान्धीबारे केही विवादास्पद बयानहरुको कारणले उनलाई पुरस्कार दिइएन । त्यो बर्ष यो पुरस्कार मानवाधिकार आन्दोलन क्वेकरलाई दिइएको थियो ।
तर रमाइलो कुरा अर्को वर्ष अर्थात सन् १९४८ मा क्वेकर आफैंले यो पुरस्कारको लागि गान्धीको नाम प्रस्ताव गर्यो । नामांकनको अन्तिम दिनको दुई दिनमात्र बाँकी छँदा गान्धीको हत्या भयो । त्यो समयसम्म नोबेल कमिटीलाई गान्धीको पक्षमा पाँच सिफारिस प्राप्त भइसकेको थियो ।
तर समस्या के थियो भने त्यो बेलासम्म मरणोपरान्त कसैलाई पनि नोबेल पुरस्कार दिइएको थिएन । तथापि त्यो समय विशेष अवस्थामा यो पुरस्कार मरणोप्रान्तलाई पनि दिन सकिने नीतिगत सम्भावना थियो ।
तर कमिटीसमक्ष त्योबेला पुरस्कार रकम कसलाई प्रदान गर्ने भन्ने समस्या आयो । किनकि गान्धीको न कुनै संगठन थियो न त ट्रस्ट नै । उनको कुनै सम्पत्ति थिएन र यो सम्बन्धमा उनले कुनै इच्छापत्र पनि छाडेका थिएनन् ।
हुनत यो विषयमा हल हुन नसक्ने कुनै कानूनी जटिलता थिएन तर कमिटीले यस्तो कुनै पनि झन्झटमा पर्न उपयुक्त ठानेनन् । तब अवस्था यो भएको थियो कि सन् १९४८ मा नोबेल पुरस्कार कसैलाई पनि दिइएन ।
गुमेको अवसर
कमिटीले आफ्नो प्रतिक्रियामा लेखेको कुराबाट यो आभास हुन्छ कि यदि गान्धीको आकस्मिक मृत्यु हुँदैन थियो भने त्यो वर्षको नोबेल पुरस्कार उनैले पाउँथे । कमिटीले त्यो वर्ष कसैलाई नोबेल पुरस्कार नदिने निर्णयबारे स्पष्टिकरण दिदैं भनेको थियो कि उसले ‘कुनै पनि जीवित उमेद्वारलाई नोबेल पुरस्कार पाउन लायकको पाएन ।’
यो बयानमा रहेको जिउँदो शब्द ध्यान दिन योग्य छ । यसको इशारा यदि मरणोपरान्त यो कसैलाई यो पुरस्कार दिइन्थ्यो भने त्यसको लागि गान्धीको अतिरिक्त अर्को व्यक्तिनै उपयुक्त हुनसक्छ ।
आज एउटा अर्को प्रश्न उब्जिन्छ कि गान्धीजस्तो महान व्यक्तित्वलाई नोबेल पुरस्कारको चाहना थियो होला त ? यो प्रश्नको जवाफ हुन्छ गान्धीको इज्जत र महानता नोबेल पुरस्कारभन्दा पनि ठूलो थियो । यदि नोबेल कमिटीले उनलाई यो पुरस्कार दिन्थ्यो भने यसले पुरस्कारकै महत्व बढाउथ्यो । तर नोबेल कमिटीले यो अवसर गुमायो ।