बेइजिङ । चीन सरकारको सरकारी मुखपत्रका रूपमा लिइने ग्लोबल टाइम्सले आफ्नो शुक्रबारको अंकमा नेपाल—चीन सम्भावित रेलमार्गको बारेमा चर्चा गरेको छ । चीनका विभिन्न विज्ञहरूलाई उद्धृत गर्दै चीनमा निर्माणाधीन रेलमार्गले नेपाल र भारत पनि लाभान्वित हुने सो आलेखमा उल्लेख छ ।
सिचुवान—तिब्बत रेलवेलाई विश्वकै सबैभन्दा बढी चुनौतीपूर्ण रेलवेका रूपमा लिइएको र यसको तिब्बतको दक्षिण एसियासँगको एकीकरणमा महत्वपूर्ण भूमिका हुन सक्ने जनाइएको छ । यसले चीनको प्रस्तावित बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ) र चीनभित्रै पनि व्यापार सञ्जाल जोड्न मद्दत गर्न सक्ने विज्ञहरूले बताएका छन् ।
चीनका राष्ट्रपति सी जिनपिङले १७०० किमी लामो सिचुवान–तिब्बत रेलवे निर्माणको योजना पूर्णरूपमा लागू गर्ने पार्टी बैठकमा गत बुधबार मात्रै घोषणा गरेपछि विज्ञहरूले यो टिप्पणी गरेका हुन् । चिनियाँ राष्ट्रपतिले पार्टीको बैठकमा सो रेलमार्ग दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तको चेङ्दूबाट सुरु हुने र तिब्बतको राजधानी ल्हासासम्म जाने जनाएका छन् । त्यसले जातीय एकता, राष्ट्रिय सुरक्षा र स्थिरता तथा तिब्बतको आर्थिक र सामाजिक विकासमा मद्दत गर्ने उनको अपेक्षा छ ।
२ सय ५० बिलियन युआन अर्थात् ३६ दशमलव १६ बिलियन अमेरिकी डलर लगानीमा बन्ने सो रेलमार्ग १ सय ६० देखि २ सय किमी प्रतिघण्टाको दरले गुड्ने र सन् २०२६ सम्ममा निर्माण सम्पन्न हुने जनाइएको छ । सो रेलमार्ग विश्वकै भौगर्भिक रूपमा सक्रिय भू–भाग मानिने किन्घाई—तिब्बत प्लेटोको दक्षिण पूर्वमा रहनेछ ।
चाइना वेष्ट नर्मल युनिभर्सिटीका सह–प्राध्यापक लङ झिङ्चुनले ग्लोबल टाइम्ससँग बिहीबार भनेअनुसार यो रेलमार्गले तिब्बतको अर्थतन्त्रलाई ऊर्जाको काम गर्नेछ किनकी यसले तिब्बतलाई सिचुवानसँग जोड्नेछ । जसको यातायातको नेटवर्कले अन्य दक्षिण पश्चिम क्षेत्रलाई समेत जोड्नेछ । त्यस्तै, अझै विकसित मध्य र पूर्वी क्षेत्रलाई पनि जोड्नेछ । जस्तो कि याङ्त्से रिभर इकोनोमिक जोन र ग्वाङडोङ—हङकङ—मकाउ ग्रेटर बे एरियालाई पनि जोड्नेछ ।
यसको निर्माण सम्पन्न भएपछि चेङ्दूबाट ल्हासाको यात्रा ४८ घण्टाबाट १३ घण्टामा झर्नेछ । ‘‘समय छोटिएपछि चीनको सम्पन्न क्षेत्रबाट तिब्बतमा सामान र मान्छेको हिँडडुल बढ्नेछ । यसले तिब्बतको अर्थतन्त्रलाई अझ बलियो बनाउन मद्दत गर्नेछ,’’ सांघाई तोङ्जी विश्वविद्यालयका प्राध्यापक तथा रेल विज्ञ सुन झाङले भने । यसैगरी, यो परियोजनाले क्विन्घाइ— तिब्बत रेलपछि दोस्रो रेल लाइन तिब्बतलाई प्राप्त हुनेछ । नयाँ रेलमार्गले पहिलो रेलमार्गको भन्दा बढी फाइदा हुनेछ ।
विज्ञहरूले सो रेलमार्गले तिब्बतमा मात्रै होइन, नेपाल र भारतमा पनि सम्पर्क विन्दुको काम गर्ने बताएका छन् । ‘यो क्षेत्रले साधन स्रोतहरू आफ्नो देश र बाहिर लग्न सक्ने र त्यसले आर्थिक विकासलाई अघि बढाउन सक्नेछ,’ लङले भने । यसैगरी, चीनका पर्यटकहरू दक्षिण एसियाली मुलुकमा भ्रमण गर्न उत्सुक रहेका छन् । र, उत्तरी भारत र नेपालको सरसामान चीनमा ल्याउन सजिलो हुनेछ । चीनको बजार ती राष्ट्रहरूले लिन सक्नेछन् ।
ग्लोबल टाइम्स अगाडि लेख्छ, ‘चीन—नेपाल रेलमार्ग जसले नेपालको राजधानी काठमाडौं र तिब्बतको सिगात्सेलाई पनि जोड्नेछ । जुन २०२२ सम्ममा पूरा हुने लक्ष्य लिइएको छ ।’ सौर्य अनलाइन