एजेन्सी
दिवंगत वैज्ञानिक स्टिफन हकिङको नीजि वस्तु पहिलो पटक लिलामी हुँदैछ । यसका उनको साइन्टिफिक पेपर्स, हाईटेक ह्विलचेयर र संसारभरी चर्चित कार्टुन शो ‘द सिम्पसन्स’ का लागि लेखिएको उनको स्क्रिप्ट समावेश छ । लिलामीको घोषणा सोमबार गरिएको हो । हकिङद्वारा प्रयोग गरिएका कूल २२ सामग्री अनलाइन लिलामीमा राखिनेछ ।
जानकारका अनुसार उनका धेरैजसो सामग्रीको मूल्य करोडौंमा हुनेछ । यहाँसम्म कि केही वस्तुका लागि बोलीको सुरुवात नै करोडौंबाट हुनेछ । क्रिस्टिज अक्शन फर्ममा किताब र लिपीका जानकार भन्छन्, ‘लिलामी गरिने रिसर्च पेपर हकिङले आफ्नो पिएचडी रिसर्चको क्रममा तयार गरेका थिए । यसमा उनको बुद्धिमताको झलक देखिन्छ । ’
उनका अनुसार सन् १९६५ मा क्याम्ब्रिज युनिभर्सिटीमा पढाईको क्रममा लेखिएको रिसर्च पेपरमध्ये एक ‘प्रोपर्टी अफ एक्सपान्डिङ युनिभर्स ’ को लिलामीमा औसत साढे एक लाख पाउन्ड पाउने सम्भावना छ । यो पेपर उनले आफ्नो हातले लेखेका थिए र साइन गरेका थिए ।
क्याम्ब्रिजमा आवेदन दिएलगत्तै उनलाई आफ्नो दिमागी रोग (न्यूरो) ‘एलएलएस’ बारे थाहा भएको थियो । यसका कारण उनी २२ वर्षको उमेरमा नै पक्षघातको शिकार भएका थिए । यो स्थितीमा उनले भोइस जेनरेटिङ (आवाज पैदा गर्ने) कम्प्युटर र हाईटेक ह्विलचेयरको सहारामा हिँडिरहे ।
अब उनले प्रयोग गरेको ह्विलचेयरको लिलामी गरिनेछ । यसको लागि कम्तीमा १० देखि १५ हजार पाउन्डसम्मको बोली लाग्न सक्ने अनुमान गरिएको छ । यो लिलामीबाट पाइने सबै पैसा स्टिफन हकिङ फाउन्डेशन र मोटर न्यूरोन डिजिज असोसिएसनलाई जानेछ ।
किताबको पनि हुनेछ लिलामीः
लिलामीमा स्टिफन हकिङको जीवनी ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ मा औंलाको निशान लागेको संस्करणको पनि लिलामी हुनेछ । यो खरिद गर्नेलाई उनको ज्याकेट पनि दिइनेछ । स्टिफनकी छोरी लूसी हकिङका अनुसार यो लिलामीका कारण उनलाई मनपराउनेले उनको उत्कृष्ट र महान कार्यलाई आफूसँगै राख्न सक्नेछन् ।
हकिङको जन्म सन् १९४२ जनवरी ८ तारिखमा अक्सफोर्ड (ब्रिटेन) मा भएको थियो । उनले ब्ल्याक होल र रिलेटिभिटी (सापेक्षता) को क्षेत्रमा निकै काम गरेका छन् । उनको किताब ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ संसारभरी निकै चर्चित छ । यसै वर्ष मार्च १४ तारिखमा ७६ वर्षको उमेरमा उनको निधन भयो ।