काठमाडौँ, कात्तिक २७ गते । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । थामिएको बजार करीब १४ अङ्कले वृद्धि भएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ९७ बिन्दुले बढेर एक हजार २०७ दशमलव ३१ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३ दशमलव ३१ बिन्दुले बढेर २५६ दशमलव ८७ बिन्दुमा पुगेको छ ।
नेप्से परिसूचक उल्लेख्यमात्रामा वृद्धि भए पनि कारोवार रकममा भने आशातित वृद्धि हुन सकेन । कूल १५० कम्पनीको १७ करोड ४१ लाख ५५ हजार ३९० मूल्यमा कारोवार भएको हो । कारोवार भएका नौ उपसमूहमध्ये आज वित्त उपसमूहको मात्रै शेयरको मात्रै घटेको छ ।
सो उपसमूह शून्य दशमलव २५ बिन्दुले घटेको छ । यस्तै बैंकिङ १४ दशमलब ६९, होटल ३६ दशमलव ५७, विकास बैंक १२ दशमलव ५९, जलविद्युत् शून्य दशमलव २८, निर्जीवन बीमा ७५ दशमलव १४, अन्य ६ दशमलव ५६, माइक्रोफाइनान्स १० दशमलव ५८ र जीवन बीमा ७७ दशमलव शून्य नौ बिन्दुले बढेको छ ।
बढेको बजारमा उन्नति माइक्रोफाइनान्स, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, सप्तकोशी विकास बैंकका शेयरधनीले कमाएका छन् भने एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, हिमालयन पावर पार्टनर, एभरेष्ट इन्स्यारेन्स कम्पनीका शेयरनीले भने गुमाएका छन् । (रासस)