काठमाडौँ, मङ्सिर ११ गते । सङ्घीय संसद् सचिवालयका पदाधिकारीको गाडी खरिद प्रक्रियालाई अर्थ मन्त्रालयले आंशिक सहमति प्रदान गरेको छ ।
सचिवालय व्यवस्थापन समितिको निर्णय अनुसार अर्थ मन्त्रालयसँग २३ वटा गाडी, कम्प्युटर तथा फर्निचार खरिदका लागि करिब २० करोड रुपियाँ माग गरिएको भए पनि अर्थ मन्त्रालयले तीन करोड रुपियाँमात्र दिएको हो । मन्त्रालयले माग अनुसारको खरिद आवश्यक भएमा आगमी वर्षको बजेटमा समेट्न पनि राय दिएको छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले व्यवस्थापन समितिको निर्णय अनुसार सचिवालयले गरेको पत्राचारको जवाफ अर्थले पठाएको बताउनुभयो । पाण्डेले भन्नुभयो, ‘हामीलाई आंशिक रूपमा मात्र खरिदमा सहमति प्राप्त भएको छ । करिब रु. २० करोड बजेट माग भएकोमा रु. तीन करोडको सहमति भएको छ । अब आवश्यकताका आधारमा खरिदको प्रक्रिया अगाडि बढाउँछौँ ।’
अर्थले चालु वर्षमा बढीमा पाँचवटा गाडी खरिदको सहमति दिएको हो । फर्निचर र बाँकी गाडी खरिद प्रक्रियालाई आगमी वर्षको कार्यक्रममा राख्न पनि राय दिएको छ । सचिवालले भने राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभा उपसभामुख, संसदीय समितिका सभापतिहरुका लागि नयाँ गाडी खरिदको प्रक्रिया एकैपटक अघि बढाउने निर्णय गरेको थियो ।
कति छन् संसद्सँग गाडी ?
सचिवालयको सवारी शाखाका अनुसार हाल ९३ वटा गाडी प्रचलनमा नै छन् । त्यसमध्येमा चारवटा ठूला बस छन् । ती बस बिहान तथा दिउँसो कर्मचारी ल्याउन तथा पु¥याउनका लागि प्रयोग हुन्छन् । अन्य गाडी भने उच्च अधिकारीकै लागि प्रयोगमा छन् । सरकारका अन्य निकायमा जस्तै संसद्का कतिपय पदाधिकारीले एकमात्र सवारीमा चित्त बुझाएका छैनन् ।
सचिवालयका अनुसार हाल सचिवालयसँग ४२ वटा स्कार्पियो गाडी छन् । जसमध्ये नौवटा मर्मतका क्रममा छन् । मर्मत बाहेकका ३३ स्कार्पियो सञ्चालनमा छन् । सञ्चालनमा रहेका यी गाडी समिति सभापतिहरूले प्रयोग गरिरहनुभएको छ ।
पछिल्लो पटक संसद् सचिवालयले २०७४ जेठमा १८ वटा नयाँ गाडी किनेको थियो । जसमा १२ वटा स्कार्पियो र छ वटा टाटाका कार थिए । कारहरू सहसचिव स्तरका कर्मचारीलाई दिनेगरी खरिद भएका थिए । तोकिएको मापदण्डविपरीत सवारी ल्याइएको भन्दै केही सहसचिवले उक्त सवारी प्रयोग गरेका थिएनन् ।
दोस्रो संविधानसभा रुपान्तरित संसद्मा परिणत भएपछि मात्र संसद्लाई चीनले नौ वटा कार उपलब्ध गराएको थियो । कियाका नौ वटा कार तत्कालीन संसदीय दलका प्रमुख सचेतकहरूले प्रयोग गर्नुभएको थियो । हाल ती गाडी संसद्का सचिवहरूले प्रयोग गरिरहनुभएको छ ।