काठमाडौं, माघ ५ गते । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले दक्षिण एशियाली खेलकूद (साग) र एशियाली खेलकूदमा पदक जित्ने खेल सङ्घलाई सम्मान गरेको छ ।
आज यहाँ आयोजित एनओसीको नवौँ साधारणासभाका अवसरमा पदक जित्ने खेल सङ्घलाई ‘एनओसी एक्सिलेन्सी अवार्ड’ तथा नगदद्वारा सम्मान गरेको हो । भारतको गुहाटीमा सन् २०१६ मा सम्पन्न १२ औँ दक्षिण एसियाली खेलकूदमा नेपालको तीन खेलले स्वर्ण, तीन खेलले रजत र ११ खेलले कास्य जितेको थियो । भारतमा सम्पन्न सागमा नेपालले फुटबल, उसु र जुडोले स्वर्ण जितेका थिए ।
नेपालले सागमा ट्राइथोलन, तेक्वान्दो र पौडीतर्फ रजत जितेको थियो । यस्तै भलिबल, आर्चरी, एथलेटिक्स, हक्की, बक्सिङ, ब्याडमिन्टन, कबड्डी, खो खो, टेबल टेनिस, भारोत्तोलन र कुस्तीमा कास्य जितेको थियो । सागमा पदक जित्ने सङ्घलाई सम्मानपत्रले सम्मानित गरेको हो ।
साधारणसभामा भारतमा सन् २०१६ मा भएको १२ औँ दक्षिण एसियाली खेलकूदमा पदक जित्ने १६ सङ्घलाई पनि सम्मान गरिएको छ । सागमा फुटबलको पुरुष टोलीसँगै उसुकी नीमा घर्तीमगर र जुडोकी फुपुल्हामु खत्रीले स्वर्ण जितेका थिए ।
त्यसैगरी गत भदौमा इन्डोनेसियामा भएको एसियाली खेलकूदमा ऐतिहासिक रजत पदक जित्न सफल प्याराग्लाइडिङ सङ्घलाई पनि ओलम्पिक कमिटीले रु २० हजार नगदसहित सम्मान गरेको छ । कमिटीले फोटो पत्रकार क्लब र नेपाल खेलकूद पत्रकार मञ्चलाई पनि रु ५० हजारसहित सम्मान गर्यो ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधानलगायतले पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो । साधारणसभाले कमिटीको वार्षिक बजेट प्रतिवेदन, महासचिव लामा टेण्डी शेर्पालाई उपचारका लागि भारत पठाउनेलगायत विषयमा निर्णय गर्नेछ ।
सो अवसरमा अध्यक्ष श्रेष्ठले नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद समयमै गर्नुपर्ने बताउनुभयो । “पूर्वाधार अभाव देखाउँदै पटकपटक खेल सार्दा नराम्रो सन्देश जान्छ, १३ औँ साग नेपालको प्रतिष्ठाको विषय हो”, उहाँले भन्नुभयो । (रासस)