फुटबलमा लिग भन्नेबित्तिकै सबैको दिमागमा आउने एउटै कुरा हो, रेगिलगेशन र बढुवा । तर नेपाली फुटबलमा यो वर्ष त्यस्तो भएन । लिग खेल्ने टिमहरुले न रेलिगेशनमा झर्नुपर्यो, न तर बढुवा हुने मौका नै पाए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले चुनावी राजनीतिका कारण एक वर्षका लागि बिना रेलिगेशनको लिग गर्ने निर्णय गर्यो । त्यही अनुसार सहिद स्मारक ‘ए’ डिभिजन लिग सम्पन्न भइसकेको छ ।
‘ए’ डिभिजन लिगमा केही शीर्ष क्लबहरुले उपाधि होड बलियो बनाउन राम्रा खेलाडी राख्ने प्रयास गरे पनि अन्य क्लबहरुले खेलाडी अनुबन्ध गर्नमा धेरै दुःख गरेनन् । त्यसैले उपाधिका लागि केही होड देखिए पनि रेलिगेशनबाट बच्नका लागि पुछारका क्बलहरुले धेरै कसरत गर्नु परेन । त्यही अवस्था ‘बी’ डिभिजनको लिगमा पनि हुने निश्चित छ ।
‘बी’ डिभिजनका क्लबहरु पनि राम्रा खेलाडी भित्र्याएर टोली बलियो बनाउने पक्षमा छैनन् । किनकी एन्फाले ‘ए’ डिभिजन मात्र होइन, ‘बी’ र ‘सी’ डिभिजन लिगमा पनि रेलिगेशन र बढुवा हुने प्रावधान हटाइदिएको छ ।
“हामी यस पटक स्थानीय खेलाडीलाई बढी प्राथमिकता दिन्छौं । किनभने यसपालि हामीलाई न रेलिगेशनको डर छ न त बढुवा हुने उत्साह,” मंगलबार स्पार्क हेल्थ होम हस्पिटलसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेपछि ‘बी’ डिभिजनको बाँसबारी क्लबका अध्यक्ष प्रेम थापाले भने, “त्यसैले हामी स्थानीय खेलाडीमा नै बढी जोड दिन्छौं ।
प्रशिक्षक पनि हामीले स्थानीयलाई जिम्मेवारी दिएका छौं । यद्यपि रेलिगेशन र बढुवा नहुने भए पनि हामी आफ्नो पुरानो साख जोगाउनकै लागि भए पनि सक्दो राम्रो गर्ने प्रयास गर्नेछौं ।”
‘बी’ डिभिजन लिग भने पनि एन्फाले अहिले प्रतियोगितामा सहभागी १२ टोलीलाई २ समूहमा विभाजन गरेर लिग गराउन लागेको छ । त्यसैले लिगमा सबै टोलीले सबै टोलीसँग प्रतिस्पर्धा गर्नेछैनन् । समूह ‘ए’ मा झम्सीखेल युथ क्लब, रानीपोखरी कर्नर टिम (आरसीटी), श्री कुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युथ क्लब, ब्वाइज युनियन क्लब छन् ।
समूह ‘बी’ मा टुसाल क्लब, पुल्चोक स्पोटर््स क्लब, मध्यपुर युथ क्लब, खुमलटार युथ क्लब, बाँसबारी युथ क्लब र श्री भगवती क्लब छन् । समूहमा राउन्ड रोविन लिग पद्धतिमा प्रतिस्पर्धा गरेपछि दुबै समूहका शीर्ष दुई क्लबले दोस्रो चरणमा एकअर्काबीच प्रतिस्पर्धा गर्नेछन् ।
-बाह्रखरीबाट