रुसको एक सुदुर इलाकामा भालुका कारण संकटकालको घोषणा गर्नुपरेको छ ।
स्थानीय अधिकारीका अनुसार आवसीय क्षेत्रहरुमा करिब एक दर्जन ध्रुवीय भालु देखिएका कारण मानिसहरुबीच त्रास फैलिएको छ ।
नोवाया जेम्लया नामक द्वीपको प्रशासनले यहाँका भालुले सर्वसाधारणमाथि हमला गर्ने जानकारी दिएका छन् ।
जलवायु परिवर्तनका कारण ध्रुवीय भालु अत्यधिक प्रभावित भइरहेका छन् र उनीहरु आफ्नो खानाको खोजीमा भट्किन बाध्य भएका छन् ।
रुसमा यी भालुलाई लोपोन्मुख प्रजातीमा समावेश गरिएको छ । यसै कारण यसको शिकारमा प्रतिबन्ध लगाइएको छ ।
यसका साथै संघीय पर्यावरण एजेन्सी यी भालु मार्नका लागि कुनै प्रकारको लाइसेन्स दिन पनि अस्विकार गर्दै आएको छ ।
स्थानीय अधिकारीका अनुसार यी भालु अब पुलिसको तर्फबाट जारी गरिने चेतावनी सिग्नलबाट पनि डराउँदैन जसका कारण स्थिती थप तनाबग्रस्त बनेको छ ।
यो द्वीपको एक प्रमुख इलाका बेलुश्या गुबामा कूल ५२ भालु देखिएको बताइएको छ । यीमध्ये ६ देखि १० वटा भालु सधैं यो इलाकामा देखिरहन्छन् ।
स्थानीय प्रशासनका प्रमुख विगंशा म्युसिनका अनुसार स्थानीय सैन्य चौकी नजिकै पाँच बढी भालु छन् । यी सैन्य चौकीमा नै वायु सेनाको बेस पनि छ ।
एक आधिकारिक वक्तव्यमा उनले भने, ‘म सन् १९८३ देखि नोवाया जेम्लयामा छु । तर यहाँ यति धेरै भालु आएको मैले कहिले पनि देखेको थिएन ।’
अधिकारीका अनुसार भालुका कारण स्थानीय त्रासमा छन् जसका कारण जनजीवन प्रभावित भइरहेको छ ।
स्थानीय प्रशासनका उप प्रमुख एलेक्जेन्डर मिनायेवले भने, ‘मानिसहरु डराएका छन्, उनीहरु आफ्नो घर छोड्न बाध्य छन् । उनीहरुको दैनिक काम प्रभावित भइरहेको छ । आमाबुवाले नचाहँदा नचाहँदै पनि बच्चाहरुलाई स्कूल पठाइरहेका छैनन् ।’
जलवायु परिवर्तनका कारण आर्कटिक समुन्द्रमा बरफको कमी हुँदै गएको छ ।
यसमा ध्रुवीय भालुलाई आफ्नो शिकार गर्ने बानीमा परिवर्तन ल्याउनु परिरहेको छ ।
उनीहरु आफ्नो धेरैजसो समय नयाँ स्थानको खोजीमा हुन्छन् जसकारण उनीहरु आवसीय इलाकामा पुग्छन् र मानिसहरुसँग उनीहरुको संघर्ष हुनथाल्छ । एजेन्सी/बीबीसी