बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान हाइज्याक गर्न खोज्ने एक व्यक्ति आइतबार साँझ सेनाको कारवाहीमा मारिएका छन् ।
मारिनेमा आफूलाई महेदी बताउने २५ वर्षीय युवा रहेका छन् ।
बंगलादेशी सेनाका अनुसार करीब आठ मिनेटको कमान्डो कारवाहीमा उनी मारिएका हुन् ।
मेहेदीले बन्दुक देखाउँदै ढाकाको चतोग्राम विमानस्थलबाट दुबई उड्न लागेको विमान बंगलादेशको बोइङ ७३७–८०० विमानलाई हाइज्याकको प्रयास गरेका थिए ।
सेनाले विमानमा सवार सबै १४८ जनालाई सकुशल रिहा गरेको जनाएको छ ।
मेजर जेनरल मातिउर रहमानका अनुसार हाइज्याकरले आफ्नो पत्नी र प्रधानमन्त्री शेख हसिनासँग कुरा गर्न चोहेको बताएका थिए ।
‘हामीले उनीसँग कुरा गर्न खोजेका थियौँ तर उनले आक्रमण गर्न खोजे । त्यही भएर कमाण्डोहरुले कारवाही अगाडि बढाउन परेको थियो,’ उनले भने ।
उनीसँग एउटा पेस्तोल फेला परेको सेनाले जनाएको छ ।
स्थानीय समयअनुसार करिब ७ बजेर २५ बजे जाँदा अपहरणकारीलाई घाइते अवस्थामा पक्राउ गरिए पनि उनको पछि मृत्यु भएको थियो ।
आइतबार एक जना सन्दिग्ध व्यक्तिले विमानको ककपिटमा जबरजस्ती छिर्न खोजे पछि चालक दलले विमानलाई आकस्मिक अवतरण गराएका थिए ।
बङ्गलादेशी सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन (आइएसपिआर) का अधिकारीका अनुसार बिजी १४७ नम्बरको दुबईका लागि भएको बोइङ ७३७ विमानलाई शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थल, छट्टोग्राममा आकस्मिक अवतरण गराइएको थियो ।
ढाकाबाट दुबईका लागि उडेको करिब दुईघण्टापछि राजधानीबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको उक्त शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ५ः४० मा अवतरण गराइएको थियो । (रासस)