एजेन्सी । उत्तर कोरियाली शासक किम जोंग उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच बुधबार दोस्रो पटक हनोईमा भेटघाट हुनेछ ।
सुरक्षाको सबै प्रबन्ध मिलाइसकिएको छ । किम मंगलबार रेलबाट चार हजार किलोमिटरको यात्रा गरेर भियतनाम पुगेका हुन् । दुई नेताबीच गत वर्ष जून १२ मा सिंगापुरमा भेटवार्ता भएको थियो ।
ट्रम्पलाई सफल भेटघाटको विश्वासः
भियतनामको यात्रा अघि ट्रम्पले किमसँगको कुराकानी सफल हुने विश्वास भएको भन्दै ट्वीट गरेका थिए ।
ट्रम्पले परमाणु हतियार पूर्ण रुपमा समाप्त भएपछि उत्तर कोरिया तीब्र रुपमा आर्थिक शक्तिको केन्द्र बन्ने पनि बताएका थिए । उनले भनेका थिए, ‘मलाई आशा छ कि किमले समझदारीपूर्वक निर्णय लिनेछन् ।
मलाई कुनै हतार छैन । म कसैलाई परीक्षण गर्न पनि जान लागेको होइन ।’
दुबै नेता सँगै खाना खानेछन्ः
ह्वाइट हाउसकी प्रवक्ता सारा सेन्डर्सले एयरफोर्स वन (अमेरिकी राष्ट्रपतिको विमान) मा पत्रकारलाई दुई नेताले सँगै खाना खाने जानकारी दिएकी छिन् ।
पहिलो भेटपछि कुनै परीक्षण गरिएको छैनः
सन् २०१८ मा जून १२ मा ट्रम्पसँग पहिलो ऐतिहासिक भेटपछि उत्तर कोरियाले कुनै ब्यालेस्टिक मिसाइल–परमाणु परीक्षण गरेका छैनन् । यसअघि किम जोंग उनले हाइड्रोजनसमेत ६ परमाणु परीक्षण गरिसकेका थिए ।