काठमाडौं – विद्युतीय सवारी प्रयोगमा चीन पहिलो स्थानमा पुगेको छ । आठ वर्षअघिसम्म अमेरिका अग्रस्थानमा रहे पनि यस वर्षदेखि चीन अगाडि रहेको वल्र्ड इकोनोमिक फोरमले उल्लेख गरेको छ ।
विश्वमा वायु प्रदूषण उच्च बन्दै गएपछि विद्युतीय सवारी प्रयोग गर्ने प्रतिबद्धता जनाए पनि विकसित मुलुकले नै यसमा चासो देखाएका छैनन् ।
सन् २०११ मा अमेरिकामा चीनभन्दा दोब्बरले विद्युतीय सवारीसाधन गुड्ने गर्थे तर सन् २०१४ पछि चीनमा प्रयोगको दर विश्वमै बढी रहेको पाइएको छ ।
सन् २०१८ सम्ममा अमेरिकामा ३ लाख ६१ हजार ३ सय सात र चीनमा १२ लाख ५५ हजार विद्युतीय सवारी गड्दै आएका छन् ।
प्राथमिकताविहीन विद्युतीय सवारी
सन् २०३० मा युरोपलगायत देशले इन्धनका सवारी प्रयोगलाई विस्थापित गरी विद्युतीय सवारीसाधन प्रयोग गर्ने घोषणा गरेका छन् ।
नेपालले समेत वायु प्रदूषणको दर घटाउन विद्युतीय सवारीसाधनलाई बढावा दिने भने पनि प्राथमिकतामा राखेको छैन ।
सवारी प्रयोगको नीति, मापदण्ड र पूर्वाधार निर्माणमा राज्यले चासो नदिँदा प्राथमिकतामा पर्न नसकेको हो ।
राष्ट्रिय योजना आयोगले सरकारलाई तत्काल वातावरणमैत्री यातायात नीति ल्याएर विद्युतीय सवारीसाधनको प्रयोग बढाउन निर्देशन दिइसकेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट