बीबीसी
पाकिस्तानी जनताले आफ्ना प्रधानमन्त्री इमरान खानलाई शान्तिको नोबेल सम्मान दिलाउनका लागि देशभरी अनलाइन ‘पिटिशन’ मा हस्ताक्षर अभियान सुरु गरेका छन् ।
यसमा अहिलेसम्म तीन लाख बढीले हस्ताक्षर गरिसकेका छन् । उनीहरुका अनुसार इमरान खानले भारतीय पाइलटलाई रिहा गरेर छिमेकी मुलुक भारतसँगको अत्यधिक तनावलाई कम गरेर आफूलाई एक वरिष्ठ नेता प्रमाणित गरेका छन् ।
गत बिहिबार पाकिस्तानमा ह्याश ट्याग नोबेल प्राइज फर इमरान खान ट्वीटर ह्यान्डलमा ट्रेन्ड भइरहेको थियो । इमरान खानको घोषणापछि मानिसहरुले ह्याश ट्यागसहित ट्वीट गर्न सुरु गरेका थिए ।
ब्रिटेन र पाकिस्तानमा चेन्ट डट ओआरजीमा पनि मानिसहले अभियान सुरु गरेका छन् । अर्कोतर्फ पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले पनि संसदलाई एउटा प्रस्ताव पठाएका छन् ।
यो प्रस्तावमा इमरान खानका लागि संसदबाट प्रस्ताव पारित गरेर नोबेल शान्ती पुरस्कारको माग गर्नुपर्ने बताइएको छ । फवाद चौधरीले इमरान खानले तनाव कम गर्नमा अप्रत्याशित रुपमा भूमिका निभाएको भन्दै उक्त प्रस्तावमा लेखेका छन् ।
पूरा मामलामा भारतीय सर्वोच्च अदालतका पूर्व न्यायाधिस मार्केण्डेय काटजूले पनि इमरान खानको तारिफ गरेका थिए । काटजूले ट्वीटमार्फत् भनेका थिए, ‘म यसअघि इमरान खानको आलोचक हुँ तर उनको भाषणा सुनेर म उनको प्रशंसक बनेको छु ।’
मार्कण्डेय काटजूको यो ट्वीट पाकिस्तान मिडियामा निकै चर्चित भएको थियो यता मार्कण्डेयले भने उक्त ट्वीटका लागि भारतीय जनताका तथानाम गाली सुन्नु पर्यो ।
आफ्नो अर्को ट्वीटमा मार्कण्डेयले लेखेका थिए, ‘जब मैले पाकिस्तानलाई झुटो र कृत्रिम देश बताएको थिएँ तब कुनै पनि पाकिस्तानीले मलाई गाली गरेका थिएनन् । अब मैले इमरान खानको तारिफ गरेँ तब दर्जनौं भारतीयले मलाई गाली गरे । मलाई देशद्रोही, सनकी र पाकिस्तान परस्तसम्म भने । अब तपाईं नै भन्नुहोस् कि हो बढी परिपक्व छ ?’
भारत र पाकिस्तान परमाणु शक्ति सम्पन्न देश हो । भारत प्रशासित काश्मिरको पुलवामा जिल्लामा सरकारी सुरक्षा बलमाथिको आत्मघाती हमलामा ४० बढी जवानको मृत्यु भएपछि दुई देशबीच तनाव बढेको थियो । यो हमलाको जिम्मेवारी पाकिस्तानस्थित चरमपन्थी संगठन जैश–ए–मोहम्मदले लिएको थियो ।
भारतले उक्त हमलापछि पाकिस्तानको बालाकोटमा आतंककारी संगठनको क्याम्पमा हमला त गरेपछि पाकिस्तानले पनि भारतको एक लडाकू विमान खसाल्यो र पाइलटलाई पक्राउ गरेको थियो ।
इमरान खानले संसदमा भारतीय पाइलट अभिनन्दन वर्तमानको रिहाईको घोषणा गरेका थिए । तत्पश्चात् तनाव केही कम भयो । एजेन्सी