पर्सा, चैत १८ गते । हावाहुरीबाट प्रभावित परिवारलाई नेकपा सांसदले एक दिन र कांग्रेस सांसदले दुई दिनको तलब दिने भएका छन् ।
सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र प्रतिपक्षी कांग्रेस सांसदबीच राहत दिने बिषयमा पनि प्रतिस्पर्धा देखिएको हो ।
नेकपा सदीय दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सबै सांसदको एक दिनको तलब राहत कोषमा जम्मा गरिने व्यवस्था मिलाउन उपनेता सुवास नेम्वाङलाई निर्देशन दिएका छन् ।
संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा नेकपाका १ सय ७० जना सांसद रहेका छन् भने राष्ट्रियसभामा ३७ जनाले प्रतिनिधित्व गर्छन ।
सांसदको पारिश्रमिक र सेवा सर्तसम्बन्धि ऐन अनुसार संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदले मासिक ५५ हजार २ सय ३० रुपैयाँ तलब पाउँछन् । यस अनुसार एक जना सांसदले एक दिन बराबर १ हजार ८ सय ४० रुपैयाँ पाउँछन् ।
एक दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भनेपछि राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनमा प्रतिनिधित्व गर्ने २ सय ७ जना सांसदबाट तीन लाख ८० हजार ८ सय ८० जम्मा हुन्छ ।
यो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेर प्रभावितहरुको उद्धारमा लगाइने छ ।
त्यस्तै नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदले दुई दिनको तलब हावाहुरी प्रभावितलाई राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । राष्ट्रिय सभा र प्रतिनिधि सभा गरी संघीय संसदमा ७६ जना कांग्रेसका सांसद छन् । ७६ जना सांसदकाे १८४० का दरले एक लाख ३९ हजार ८ सय ४० हुन्छ ।