काठमाडाैं । गत हप्ता प्रहरीले काठमाडौं स्थित दरबारमार्ग नजिकै रहेको पाँचेतारे होटेल याक एण्ड यतिबाट हाइप्रोफाइल १२ भारतीय नागरिकलाई नेपाल प्रहरीले नियन्त्रणमा लियो । नेपालमा प्रतिबन्धित नेटवर्किङ्ग बिजनेश संचालन गर्न लागेको आशंकामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।
भारतमा साइन ग्रुपको नामले सञ्चालित नेटवर्किङ्ग बिजनेशलाई नेपालमासमेत विस्तार गर्नको लागि नेपाली नागरिकलाई साहभागी गराइ नेटवर्किङ व्यापार प्रशिक्षण र तालिम सञ्चालन गरिरहेको विशेष सूचनाको आधारमा उनीहरु गत शुक्रबार राति पक्राउ परेका थिए ।
अहिले उनीहरूलाई छुटाउन भारतमा हार-गुहार चलिरहेकाे छ । हिन्दुस्तान टाइम्सकाे अनुसार पक्राउ परेकाहरूकाे आफन्तले उनीहरुलाई छुटाउन भारतको विदेश मन्त्रालयलाई समेत गुहारेका छन् । समाचारकाे अनुसार आज साेमबार पक्राउ परेकाका आफन्तहरू विदेश मन्त्रालयमा जाने र भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेटेर उनीहरुलाई छुटाउन सहयोग माग्ने बताइएकाे छ ।
रिपाेर्टकाे अनुसार आफूसहितका पीडितका परिवारले स्वराजलाई इमेलमार्फत पत्र पठाइसकेको छ । रशिद नसिमका दाजु असिफ नसिमले विदेश मन्त्रालयलाई पठाएको पत्रमा तत्काल हस्तक्षेप गर्न भनिएको छ ।
तीन दिने विजनेश कार्यशालामा भाग लिन जाने क्रममा नेपाल प्रहरी पक्राउ गरेकाे उनीहरूले बताएका छन् । एक जना नेपालका नागरिक महेन्द्र सिंह सोही कार्यक्रममा रहेको र उनी विरुद्ध परेको उजुरीको आधारमा भारतीयलाई पनि पक्राउ गरिएको उनीहरूकाे दावी छ । ‘उनीहरु नेपालमा तीन दिने व्यवसायिक कार्यशालामा सहभागि हुन गएका थिए । तर उनीहरुलाई नेपाली महेन्द्र सिंहले उजुरी दर्ता गराएपछि पक्राउ परेका हुन्,’ देवेन्द्रले बताए ।
देवेन्द्रले नेपाली नागरिकले हालेकोे उजुरीको आधारमा भारतीय नागरिकलाई पक्राउ गर्नु निन्दनीय भएको बताए । उनीहरूले महेन्द्र सिंह बाहाेक अरुलाई कारवाही गर्न नमिल्ने पनि बताएका छन् ।
पक्राउ परेका १२ जनानै भारतको उत्तर प्रदेशका हुन् । पक्राउ पर्नेहरुमा भारत लखनउ घर भएका वर्ष ३३ को अजित कुमार सिंह, भारत इलाहावाद घर भएका वर्ष ३२ को मोहमद सारजिल, भारत छत्तिसगढ घर भएका वर्ष ४५ को निरज कुमार मिश्र, भारत उत्तरप्रदेश घर भएका वर्ष ४३ को अशोक कुमार, भारत छत्तिसगढ घर भएका वर्ष ४३ को गिरि उपाध्याय छन् ।
यस्तै भारत उत्तर प्रदेश घर भएका वर्ष ४० को रमेश रामा, छत्तिसगढ गुजरात घर भएका वर्ष २२ को आयुष उपाध्याय, उत्तर प्रदेश घर भएका वर्ष ३८ को सुनिल उपाध्याय, उत्तरप्रदेश घर भएका वर्ष ३२ को काशिफ सकिल, वर्ष ३२ को गजेन्द्र कुमार सिंह र नयाँदिल्ली घर भएका वर्ष ४३ को रसिद नसिम पक्राउ परेका हुन् ।
रसिद याक एण्ड यतीमा नबसी दैनिक भण्डै रु दुई लाख तिरेर हायत रिजेन्सी होटलमा कोठा लिएर बसेको समेत प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । - न्युज २४ अनलाइन