काठमाडौं । सरकारले बुधबार आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्मा पेश गर्ने भएको छ ।
संघीय संसद्को अपराह्न ४ बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट पेस गर्नुहुनेछ ।
नेपालको संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने व्यवस्था छ । यसअघिका बजेटमा जनतामा उत्साह जगाउन नसकेको तथा पार्टी घोषणापत्रलाई नै बेवास्ता गरेको भन्दै आलोचना भएपछि आजको प्रस्तुत हुने बजेटमा अर्थमनत्री युवराज खतिवडाले लोकप्रिय बजेट ल्याउने तयारी गरेको बुझिएको छ ।
अर्थमन्त्री खतिवडाले यस पटक वितरणमुखी कार्यक्रम राख्दै खुकुलो बजेट ल्याउने भएका छन् ।
सामाजिक सुरक्षा भत्ता, कर्मचारी तलब वृद्धि, केही उत्पादनलाई अनुदान, युवाका नाममा राजनीतिक कार्यक्रम, कृषि तथा स्वदेशी उद्योग भन्दै अनुदानलगायतका वितरणमुखी कार्यक्रमहरू बजेटमा घोषणा गरिने भएको बुझिएको छ ।
यो आर्थिक वर्षको बजेटको आकार १५ खर्ब हाराहारी हुने स्रोतले बताएको छ । यो बजेटका लागि १० खर्ब राजस्व उठाउने लक्ष्य छ । बाँकी रकम वैदेशिक सहायता तथा ऋण, आन्तरिक ऋण र यस वर्ष खर्च नभएर बचेको रकमबाट जुटाउने घोषणा अर्थमन्त्रीले बजेटमा गर्नेछन् ।
मंगलबार दिउँसो सम्पन्न स्रोत समितिको बैठकले अर्थमन्त्रीलाई आगामी आर्थिक वर्षमा लागि दिइएको १४ खर्ब ९३ अर्ब रुपैयाँको सिलिङलाई मध्यकालीन खर्च संरचनाअनुसार नै विस्तार गर्न सक्ने अनुमति दिएको छ। मन्त्रालयबाट थप कार्यक्रमसहित बजेटको माग आएपछि स्रोत समितिले १४ खर्ब ९३ अर्ब रुपैयाँदेखि १५ खर्ब ७७ अर्ब रुपैयाँबीचमा रहेर बजेट ल्याउन अर्थमन्त्रीलाई अधिकार दिएको हो।
राष्ट्रिय गौरवका आयोजनालाई आगामी केही वर्षभित्र सम्पन्न गर्ने गरी झन्डै डेढ खर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।
तीन वर्षयता नबढेको कर्मचारीको तलब पनि आगामी आर्थिक वर्षमा वृद्धि हुने भएको छ। कर्मचारीको तलब २०–२५ प्रतिशतसम्म बढ्न सक्ने बताइएको छ।
चालू आवका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख बराबरको बजेट प्रस्तुत गरिएको थियो । कूल विनियोजनमध्ये चालूतर्फ आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख, पूँजीगततर्फ तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख र वित्तीय व्यवस्थातर्फ एक खर्ब ५५ अर्ब ७१ करोड ७० लाख विनियोजन गरिएको थियो ।