सर्लाही, असार ६ गते । सर्लाही धनकौलका रामबाबु रायले अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिममा उखु बिक्री गरेको चार लाख रुपियाँ भुक्तानी लिन बाँकी छ । रायले सो उद्योगबाट दुई वर्ष अघिदेखिको उखु बिक्रीबापतको रकम पाउनु भएको छैन ।
राय पीडित उखु किसानमध्ये एक प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । उहाँजस्तै जिल्लाका सयौं किसानले चिनी मिलमा उखु बिक्री गरेको पैसा लामो समयदेखि पाएका छैनन् । राय भन्नुहुन्छ ‘‘उखु रोप्ने, गोडमेल गर्ने र ढुवानी गर्नका लागि ऋण लिइयो तर उद्योगले खरिद गरेको उखुको रकम समयमा नदिँदा साह र बैङ्कलाई तिर्नुपर्ने ब्याज बढेको बढ्यै छ ।’’ उखु बेचेको रकम नपाउँदा खेतबारी नै बेचेर साहुको ऋण तिर्नुपर्ने अवस्था आएको उहाँको गुनासो छ ।
उखुको भुक्तानी माग्दै जिल्लाका किसानले पटक–पटक आन्दोलन गर्दै आएका छन् तर पनि उनीहरूले रकम प्राप्त गर्न सकेका छैनन् । जिल्लाको दक्षिणी भेगका किसानले एक महिनाअघि उखुको रकम भुक्तानी माग्दै सदरमुकाम मलङ्गवामा रिले अनसन सुरु गरेका थिए ।
जिल्लाको दक्षिणी भेगका किसानले सदरमुकाम आएर अनसन सुरु गरेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको पहलमा भएको वार्तामा उद्योगका प्रतिनिधि र किसानबीच पाँच बुँदे सहमति भएको थियो । जसअनुसार अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिमले असार मसान्तसम्म अघिल्ला आर्थिक वर्षहरूको भुक्तानी गर्ने सहमति भएको थियो तर हालसम्म उद्योगले भुक्तानी सुरु गरेको छैन । उद्योगी सम्पर्क विहीन छन् ।
सर्लाही हथियौलका किसान रामऔतार साहले निकै हतास हुँदै भन्नुभयो ‘‘ऋण लिएर कतिञ्जेल व्यवहार धान्नु, उखु बेचेको रकम माग्न उद्योग पुग्दा उद्योगी भेटिँदैनन्, कसलाई के भन्नु ?’’
उहाँ यो वर्षदेखि उखु खेतीको सट्टा अन्य खेती गर्ने सोचमा हुनुहुन्छ । उहाँले गत फागुनमै महालक्ष्मी चिनी उद्योगमा उखु बेचे पनि हालसम्म एक पैसा नपाएको गुनासो गर्नुभयो ।
एक महिनाअघि सदरमुकाम मलङ्गवामा भएको सहमतिअनुसार उद्योगबाट चिनी निकासीमा किसानले कुनै अवरोध गरेका छैनन् । उनीहरूले धमाधम चिनी बिक्री गरिरहेका छन् तर बिक्री गरिसकेपछि पनि उद्योगले सहमतिअनुसार भुक्तानी नदिने हो की भन्ने आशङ्का किसानमा छ । सर्लाहीमा इन्दु शङ्कर चिनी उद्योग हरिवन, अन्नपूर्ण चिनी उद्योग पश्चिम धनकौल र महालक्ष्मी चिनी उद्योग बगदह गरी तीनवटा उद्योग छन् ।
अन्नपूर्ण चिनी उद्योगले किसानलाई अघिल्ला वर्षहरूको १२ करोड ५० लाख र यस वर्ष (०७५÷०७६) को ३७ करोड रुपियाँ भुक्तानी गर्न बाँकी छ । यसै सिजनदेखि सञ्चालनमा आएको महालक्ष्मी चिनी उद्योग बगदहले किसानलाई ४९ करोड रुपियाँ दिएको छैन । इन्दुशङ्करले क्रसिङ सुरु गरेको पहिलो महिनाको केही भुक्तानी गरेको छ ।
नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले उद्योगीले किसानसँग बारम्बार सहमति गरे पनि त्यसलाई लत्याउने काम गरेको छ । मैनालीले भन्नुभयो ‘‘किसानको समस्या बुझ्ने कोही भएनन् । उखु क्रसिङ सुरु गरेको ४५ दिनभित्र भुक्तानी सुरु गर्ने सहमति पनि उद्योगीले लत्याएका छन् ।’’