२९ असार, काठमाडौं । न्युजिल्याण्डलाई सुपर ओभरमा हराउँदै आयोजक इंग्ल्याण्डले पहिलो पटक विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
यसअघि लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन बनाएको थियो । उसका लागि हेनरी निकोलसले ५५ र टोम लाथमले ४७ रन बनाए ।
न्युजिल्यान्डले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । २९ रनमा पहिलो विकेटको रुपमा मार्टिन गप्टिललाई गुमाएको न्युजिल्यान्डले सम्हालेर खेलेको थियो । दोस्रो विकेटको लागि कप्तान केन र निकोलसले ७४ रनको साझेदारी गर्दै उकासेका थिए ।
जवाफमा मैदान उत्रिएको घरेलु टोलीले पनि सबै विकेट गुमाएर २४१ रन नै बनायो । उसको सुरूवात खराब रह्यो ।
८६ रन जोड्दा ६ विकेट गुमाइकेको थियो तर, बेन स्टोक्स र जोस बट्लरले पारी उकासे । दुबैले १०८ रनको साझेदारी गरे । बट्लर ५९ रनमा आउट भए । त्यसपछि खेलमा न्युजिल्याण्ड हावी भयो, घरेलु टोलीले एकपछि अर्को विकेट गुमायो र अन्तिम ओभरमा ६ बलमा १५ रन चाहियो ।
ट्रेन्ट बोल्टले सुरूको दुइ बलमा रन दिएनन् तर, तेस्रो र चौथो बलमा छक्का हानेपछि खेलले रोमाञ्चक मोड लियो । अब २ बलमा तीन रन चाहियो इंग्ल्याण्डलाई ।
पाँचौं बलमा घरेलु टोलीले एक रन त लियो तर आदिल रसिद रनआउट भए । अन्तिम बलमा दुई रन चाहियो । एक रन जोडेर अर्को रनका लागि दौडिएका मार्क वुड रन आउट भएपछि खेल बराबरी भयो ।