शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफू अमेरिकी सहयोग लिन नहुने पक्षमा नरहेको पनि स्पष्ट पारे । उनले भने,‘मैले अमेरिकी सहयोग लिनुहुँदैन भनेको होईन, तर सहयोग लिँदा आफ्नो देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभिमानलाई अक्षुण राख्दै अघि बढ्नुपर्छ ।’
नेता रावलले नेकपाको विधान र राजनीतिक प्रतिवेदनमा पनि राष्ट्रिय स्वाधिनता, अखण्डता, स्वतन्त्र परराष्ट्र नीति र असंलग्नतालाई आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनको महत्वपूर्ण आधार बनाएको पनि रावलले सुनाए । कांग्रेस र देशभक्तहरुले उठाएको कुरालाई हेर्ने हो भने राष्ट्रिय स्वतन्त्रता, भौगिलक अखण्डता र स्वतन्त्र परराष्ट्र नीतिभन्दा हाम्रो बेग्लै हो भने कसैले पनि नभनेको उनले जिकिर गरे ।
नेपाल सरकार र अमेरिकी सहयोग निकाय एमसीसीबीच सम्झौताको प्रसंग र यसपछिका कतिपय छलफलमा आफूले पनि पटक–पटक धारणा राखेको रावलले सुनाए । उनले भने,‘ती छलफलमा कतिपयले यत्रो ठूलो धनराशी सहयोग आउँदैछ, हामीले यो सहयोग लिएनौं भने हाम्रो सम्बन्ध नै बिग्रिन्छ, विश्वसनियता गुम्छ भनेको पनि सुनें । अनि परराष्ट्र नीति नमानेर हाम्रो देशको स्वाधिनता, स्वतन्त्रता र अखण्डतालाई नै शिरोपर गरेन भने त विश्वसनियतामात्रै होईन देशको अस्तित्व नै गुम्ला नि ? यतातर्फ ध्यान दिएको छ कि छैन यसो भन्नेहरुले ?’
उनले नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानका बारेमा कुरा उठाउँदा कतिपयले अल्पज्ञानी भएको भनेर आरोप लगाउने काम गरेको पनि टिप्पणी गरे । उनले भने,‘यस्तो भन्नेहरुलाई म भन्न चाहन्छु–यो सम्झौताको मस्यौदा सुरुदेखि अन्त्यसम्म सबैभन्दा बढि पढ्ने व्यक्ति मै हुँ । पढ्दै नपढी जथाभावी बोल्नुहुँदैन्, नेपाली जनतालाई अन्धकारमा राख्ने षड्यन्त्र गर्नुहुँदैन् ।’
अमेरिकी विदेश मन्त्रालयका सहायक उपमन्त्री डेभिड जे. रेन्जले सन् २०१९ को मे १४ मा र सन् २०१९ को फेब्रअरी १० मा एलिस वेल्सले एमसीसी एशिया प्यासिफिक स्ट्राटेजीकै अंग हो भनेर सार्वजनिक रुपमै बोलेकोले नेपाल सरकारले यसको बारेमा अमेरिकी सरकारसँग जवाफ माग्नुपर्ने बताए ।
सम्झौताको दफा ७ को १ मा ‘प्रस्तुत सम्झौता लागु भएको हुँदा प्रस्तुत सम्झौता र नेपालको कानून बाझिएमा प्रस्तुत सम्झौता लागु हुनेछ । नेपालको कानून भन्नाले मूल कानून नेपालको संविधान हो । अनि कुनै देशसँग गरिएको सम्झौतामा नेपालको कानून बाझिएमा नेपालको कानून नै त्यसको अधिनमा रहने ? यो कुरा हो कि होईन ? अनि यो केही पनि होईन, यसले केही पनि समस्या पारेको छैन् भनेर जसले आफू कुटनीतिज्ञ हो भन्छ, ठूलो ठूलो अर्थशास्त्री र अन्तर्राष्ट्रिय कानूनको ज्ञाता भनेर जसले दाबी गर्नुहुन्छ, म उहाँहरुसँग यसको जवाफ छ, नेपाली जनतालाई यसको जवाफ दिनुपर्छ ।’
सम्झौताको धारा ३ दफा ३ मा ‘सरकारले आफ्नो तर्फबाट एमसीसीलाई बौद्धिक सम्पत्तिको अधिकार दिएको छ, त्यस्तो खालको सम्झौतामा अन्तर्राष्ट्रिय कानूनअनुसार, हाम्रो राष्ट्रिय कानूनअनुसार कुनै काम भयो भने त्यसबाट प्राप्त हुने प्रोपर्टी राईट्स भन्छौं त्यो सम्पत्तिमाथि नेपालले दिनुपर्नेमा नेपालको हक लाग्छ, अमेरिकाले प्राप्त गर्नुपर्नेमा अमेरिकाको हक लाग्छ, तर सम्पूर्ण एकलौटी अमेरिकालाई दिने भनेको के हो ? ती बुद्धिजीवीहरुले जवाफ दिनुपर्छ ।’
कतिपयले एमसीसी आँखा चिम्लिएर लिनुपर्छ भनेर प्रचार गरिरहेको पनि आफूले देखिरहेको रावलको टिप्पणी छ । उनले भने,‘आँखा चिम्लिएर यसो भन्नेहरुलाई मेरो अर्को प्रश्न छ, धारा ३ को दफा ३ को ८ ‘क’ मा अमेरिकाको लेखा परीक्षण कम्पनीले लेखापरीक्षण गर्न पाउने कुरा उल्लेख गरेको छ । तर, नेपालको महालेखापरीक्षकले लेखापरीक्षण गर्ने कुरा उल्लेख छैन् ।’
एमसीसीको सहयोगमा अमेरिकाको मात्रै ५५ अर्ब रुपैयाँ नभएको भन्दै उनले नेपालको पनि त्यसमा १३ अर्ब रुपैयाँ रहेको स्पष्ट पारे । उनले भने,‘नेपाली जनताले तिरेको करको १३ अर्ब रुपैयाँ त्यहाँ परेको छ, तर नेपालको महालेखापरीक्षकले लेखापरीक्षण गर्न नपाउने कुरा यो नेपालको राष्ट्रिय स्वाधिनताको हितमा छ ?’ सम्झौताको ५ ‘क’ मा ‘सरकारले एमसीसीलाई चित्तबुझ्ने योजना तयार पारी पठाउनुपर्नेछ र त्यस्तो योजना पठाउँदा भारत सरकारले सो योजनाको समर्थन गरेको हुनुपर्नेछ’ भनेर उल्लेख गरिएको सुनाउँदै रावलले भने,‘यो सम्झौता अमेरिका र नेपालको बीचमा भएको हो कि, वा नेपाल, अमेरिका र भारतबीच भएको त्रिपक्षीय सम्झौता हो ? यस्तो गर्नु भनेको नेपालको आत्मनिर्णयको अधिकारलाई सिमित बनाउने कुरा हो ।’ उक्त सहयोग लिएर नेपालको पिछडिएको ठाउँ र अर्थतन्त्रलाई माथि उठाउन खोजेको हो भने १३ अर्ब त नेपालको पनि परेको उनले सुनाए । उनले भने,‘कर्णाली र सुदुरपश्चि प्रदेशमा पनि एक पैसापनि हालिएन ?’
रावलले लोकतन्त्रमा जनताले जवाफ पाउनुपर्ने पनि धारणा राखे । उनले भने,‘लोकतन्त्रमा सरकार जनताप्रति उत्तरदायी हुनुपर्छ । हामी जनप्रतिनिधि संसदप्रति उत्तरदायी हुनुपर्छ । उत्तरदायीविहीन क्रियाकलाप कसैले गर्छ भने त्यो राम्रो हुँदैन् । त्यो त निरंकुशवादी कदम हो ।’ रावलले सम्झौताको अनुसुची १ मा परियोजनामा नेपाल सरकारले राज्यका कुनै निकाय संलग्न गराउनु परेमा एमसीसीको स्विकृति लिनुपर्ने भनेर लेखिएकोमा पनि उनले आपत्ति जनाए । रावलले भने,‘योजना नेपालमा लागु गर्नुपर्ने अनि स्विकृति एमसीसीको लिनुपर्ने ?’
उनले उक्त योजना लागु गर्नको लागि चाहिने सडकको लागि जग्गा, विद्युतको लागि केही लिनुपर्यो भने त्यसमा पनि एमसीसीको स्विकृति लिनुपर्दा नेपालको आत्मनिर्णयको अधिकार कहाँ गयो ? भन्दै प्रश्न गरे । उनले भने,‘यसबारेमा पनि आँखा चिम्लिएर एमसीसीको सहयोग लिनुपर्छ भन्नेहरुले जवाफ दिने कि नदिने ?’
उनले कसैको नामनै नलिईकन भने,‘प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतिर नजिक भएका केही सार्वजनिक रुपमा बोल्ने व्यक्तिहरुले भनेको सुनें, यो एमसीसी सन् २०११ मा पछिमात्रै ल्याएको भनेर बालुवाटारसम्वद्ध एकजना व्यक्तिले सार्वजनिक रुपमा भनेको सुनें, अरुले जानेको छैन मैले मात्रै जानेको छु जस्तोगरी सार्वजनिक रुपमा भन्ने, अनि अर्कालाई भ्रम फैलायो भन्ने । यो एमसीसी सन् २००४ मा आएको हो ।’ सम्झौताको सुरुवातमा नै एमसीसी सन् २००४ मा स्थापना भएको भनेर लेखिएको पनि उनले सुनाए ।
आईपिएससम्बन्धी अमेरिकाको रक्षा मन्त्रालयबाट प्रकाशित दस्तावेजको ३८ नम्बर पेजमा नेपालसम्बन्धी कुरा उल्लेख गरिएको रावलले सुनाए । उनले भने,‘वर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिका भ्रमण गरेलगत्तै नेपाल र श्रीलंका सबैभन्दा पछिल्लो यो रणनीतिमा संलग्न देशको रुपमा देखिएका छन् ।’ आफूहरु चीन, जापान, भारत, अमेरिकाको सहयोगलाई स्वागत गर्ने भएपनि देशको र नेपाली जनताको स्वाधिनतालाई बन्धकी राखेर नलिने पनि रावलले स्पष्ट पारे ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेलामा महाकाली नदीको एकीकृत विकास सम्झौता गर्दा त्यो बेला तत्कालिन नेकपा एमाले पार्टी फुटेको सुनाउँदै राववले थपे,‘त्यतिवेला त्यो सम्झौता नगरी हुँदैन्, हामीले त्यतिवेला भनेका थियौं कि लिम्पियाधुरा महाकाली नदीको उद्धगमस्थललाई प्रष्ट पारेरमात्रै सम्झौता गरौं भन्ने मेरो पनि राय थियो। म त्यतिवेला प्रतिनिधिसभा सदस्य थिएँ । तर, त्यतिवेला खरबौं रुपैयाँ नेपालमा आउँछ भनेर किन विरोध गरेको भनेर प्रश्न गरिएको थियो, नेपालको विकास विरोधी भयो भनेर मलाई भन्नुभयो, त्यतिवेला पश्चिमबाट सुर्य उदाउँछ भीम रावलजी ? भनेर भनिएको थियो ।’
भारतले एकतर्फी रुपमा नक्शा जारी गरेर नेपालका भूभाग लिपुलेक, लिम्पियाधुरा, कालापानी आफ्नो क्षेत्रमा राख्दा हिजो महाकाली सन्धि गर्नेहरुले पनि आज आएर भारतको विरुद्धमा चिच्याईरहेको पनि उनले सुनाए । उनले भने,‘भनेपछि त्यतिवेला हामीले राखेका कुरा कति सही रहेछन् ? मैले अमेरिकी सहयोग लिनुहुँदैन भनेर भनेको होईन ।’
एमसीसीको सम्झौतामा उल्लेख गरिएका प्रावधानअनुसार नेपाल शक्तिराष्ट्रको प्रतिष्र्धाको चपेटामा पर्न सक्नेपनि भविष्यको खतरा औंल्याए । उनले भने,‘सरकारले त जसरीपनि संसदबाट एमसीसी पारित गर्छ भनेर ऋषिजीले प्रश्न गर्नुभयो, यदि नेपालको संविधान मान्ने हो, नेपालको सार्वभौमसत्ताको सम्मान गर्ने हो भने मैले उठाएका प्रश्नका जवाफ दिनुपर्छ । यो नेपालको परराष्ट्र मन्त्रालयले पनि यसको जवाफ दिनुपर्छ, र अमेरिकाको विदेश मन्त्रालयले पनि यसको जवाफ दिनुपर्छ ।’ दुवै देशको परराष्ट्र मन्त्रालयबाट जवाफ आएर समानताको आधारमा हुन्छ भन्ने कुरा आए यसमा आफूहरुको आपत्ति नहुने पनि उनले जिकिर गरे ।
उनले भने,‘यसको जवाफ नदिई हामी त अहिले अधिकार प्रयोग गर्ने स्थानमा छौं, अख्तियार प्राप्त गरेका व्यक्ति हौं, हामीले गर्दा त जेपनि हुन्छ भन्ने हो भनेर जबरजस्ती पारित गर्ने हो भने त्यो नेपालको संविधानको भावनाविपरित हुन्छ । नेपालको स्वाधिनता र स्वतन्त्रताको मर्मविपरित हुनेछ । जसरी नेपालमा विगतमा श्री ३ महाराजहरुले आफ्नो सत्ता जोगाउनको लागि १९५० का असमान धाराहरु हाम्रो टाउकोमा थुपारेर आज हामी चिच्याईरहेका छौं, ती असमान धारा हट्नुपर्छ भनेर । त्यो दिन नआओस् ।’
उनले पैसा आउँदैछ भनेर सहयोग नसोची लिन नहुने तर्क पनि गरे । उनले भने,‘कोही पत्रकारले मलाई यत्रो पैसा आउँदैछ लिँदा के हुन्छ ? भनेर प्रश्न गर्दा मैले जवाफ दिएको थिएँ–मेरी आमालाई चीरहरण गरिरहन्छ तर मलाई सुनको सिंहासनमा राखिरहन्छ भने म मेरी आमालाई चीरहरण गरेको हेर्न सक्दिन् । यदि कसैले आमाको चीरहरण गरेको हेरिरहन्छ भने त्यो भन्दा दुष्ट अर्को कोही हुँदैन् ।’
रावलले फरक प्रसँगमा पछिल्लो समय देशमा एम्बोस्ड नम्बरको नाममा आफ्नो लिपी भाषा नै नभएको सुनाए । उनले भने,‘अहिले ८ अर्ब ७५ करोड रुपैयाँ मोटामोटी विदेश कम्पनीले लैजाँदैछ । हामीले नम्बर प्लेट फेरेबापत यत्रो पैसा लैजाँदैछ । आज प्रदेश नम्बर १, २, ३ र ५ ले अहिलेसम्म नामारण गर्न सकेको छैनन् । अदालतले पनि यस्तो अवस्थामा कसरी एम्बोस्ड नम्बर लिने कुरालाई किन खोलिदियो ? मलाई आश्चर्य लागेको छ । राष्ट्रलाई यसरी लुट्न पाईन्छ ?’ उनले यो प्रकरण खोल्न आफू विवश भएको सुनाउँदै भने,‘वर्तमान प्रधानमन्त्री, अर्थमन्त्री र प्रधानमन्त्रीका सल्लाहकारहरुलाई मैले के अनुरोध गरेको थिएँ भने जबसम्म प्रदेशको नामाकरण हुँदैन्, तबसम्म यो एम्बोस्ड नम्बर हाल्ने काम नगरौं भनेर भनेको थिएँ । तर, म सुन्दैछु अहिले यातायात व्यवस्था विभागले यसलाई अघि बढाउँदैछ अरे । डेढ वर्षमा लगभग २५ लाख गाडीहरुमा नम्बर प्लेट फेरिँदैछ । तीमध्ये सबैभन्दा सवारीसाधान को संख्या यही १ नम्बर, २ नम्बर, ३ नम्बर र ५ नम्बर प्रदेशमा छ ।’
उनले देश र जनताको हितमा बोल्न किन नपाईने भन्दै प्रश्न गरे । उनले पार्टीको स्थायी कमिटीको बैठकमा पनि आफूले यसबारेमा कुरा उठाएको सुनाए ।
उनले भारतीय अतिक्रमणमा परेको नेपाली जमिन फिर्ता ल्याउनुपर्ने बताए । उनले भने,‘भारतसँगको राजनीतिक तथा कुटनीतिक वार्ता आरम्भ गर्नुपर्छ । हामीले स्थायी कमिटीको बैठकबाट पनि प्रस्ताव पारित गरेका छौं । भारतले पनि वार्ताको लागि तत्परता देखाएको छ भन्ने कुरा आएको छ, यो राम्रो कुरा हो ।’ नेपाल सरकार आफूसँग भएको ऐतिहाँसिक तथ्य र प्रमाणको आधारमा वार्तामा बस्नुपर्नृे उनको भनाई छ ।
रावलले यति समूहको बारेमा पनि आफूले पार्टीको बैठकमा कुरा आएको सुनाए । उनले भने,‘मैले त वाईडबडी, एनसेलको कर प्रकरण, बालुवाटार जग्गा प्रकरण र गोकर्ण रिसोर्टलाई लिज दिईएको बारेमा कुरा उठाएको थिएँ, यसमा तथ्य कुरा के हो भनेर सोधेको थिएँ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भ्रष्टाचार नगर्ने र हुनपनि नदिने भनेर सार्वजनिक रुपमै प्रतिबद्धता जाहेर गरेकोले सबै प्रकरणमा छानबिन हुनुपर्ने उनको माग छ । उनले भने,‘मैले अघि उठाएका सबै प्रकरणमा छिटोभन्दा छिटो छानबिन भएर दोषीहरुमाथि कारबाही हुन्छ भन्ने मेरो अपेक्षा छ ।’