काठमाडौं । २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आज चियापन कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौको नेपाल पुलिस क्लबमा आयोजित उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु, विभिन्न राजनैतिक दलका प्रमुख, नेता, मन्त्री, सरकारका उच्च पदाधिकारी, संचारकर्मी एवं राप्रपाका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
बिहान ११ बजेबाट शुरु भएको उक्त चियापान कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शम्सेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, कांग्रेस नेता गोपालमान श्रेष्ठ, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, नेकपाका नेताहरु सुवास नेम्बाङ, भीम रावल लगायतलाई राप्रपा अध्यक्ष कमल थापाले स्वागत गरेका थिए ।
कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापासहित बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, बरिष्ठ नेता दिपक बोहोरा लगायत कार्यसमितिका सदस्य एव नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
हरेक वर्ष पुस २७ गते राप्रपाले पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ । नेपालीलाई नेपाली नाम र पहिचान दिने राष्ट्र निर्माताको सम्मानमा ०६६ सालदेखि चियापन कार्यक्रमको परम्परा थालनी गरेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।