१२ बैशाख । उच्च अदालत पाटनले यसअघिको अन्तरिम आदेश खारेज गरेपछि अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रीय कार्यसमितिको निर्वाचन बैशाख २२ गते हुने निश्चित भएको छ ।
पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना र न्यायाधीश बिष्णुप्रसाद कोइरालाको संयुक्त इजलासले गत चैत ७ गते जारी गरेको अन्तरिम आदेश खारेज गर्ने फैसला गरेको हो ।
गत चैत १४ गते हुनुपर्ने एन्फा केन्द्रीय निर्वाचनमा आफूहरुलाई मताधिकारबाट बञ्चित गर्न लागिएको भन्दै भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु र मकवानपुर जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष मणि श्रेष्ठले दायर गरेको मुद्दामा पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो । जसका कारण चैत १४ गते हुने एन्फा चुनाव स्थगित भएको थियो ।
तर, दुवै जिल्लाको विवाद समाधान गरी चैत २३ गते मकवानपुर र २८ गते भक्तपुरको चुनाव सम्पन्न भइसकेको अवस्थामा अन्तरिम आदेशको औचित्य सकिएको भन्दै एन्फाले बैशाख ३ गते अदालतमा अन्तरिम आदेश खारेजी (भ्याकेट) निवेदन दर्ता गराएको थियो ।
एन्फाको तर्फबाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे तथा अधिवक्ताहरु सुजित केसी र सुरेशकुमार पोडेलले बहस गरेका थिए ।
त्यस्तै एन्फा निर्वाचनमा परिवर्तन पक्षधरका उम्मेदवार कर्मा छिरिङ शेर्पाको तर्फबाट वरिष्ठ अधिवक्ताहरु उपेन्द्रकेसरी न्यौपाने र हिरा रेग्मीले बहस गरेका थिए ।
अदालतको आदेशपछि एन्फा निर्वाचनको बाटो खुलेको छ । यसअघि गत बैशाख ९ गते एन्फाको निर्वाचन समितिले बैशाख २२ गते चुनाव गराउने निर्णय गरेको थियो ।
एन्फा चुनावमा परिवर्तन पक्षधरबाट पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पा र वर्तमान बरिष्ठ उपाध्यक्ष मणि कुँवर प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन्
उच्च अदालत पाटनको आदेश