भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा यहि बैशाख २८ गते आउनु हुने निश्चित भएको छ । अतिथि देवो भव: को संस्कार, मान्यता र आदर्शलाई आत्मसात गर्ने नेपालीहरुले आगन्तुक बिशिष्ठ पाहुनाको सत्कार, स्वागत र सम्मान गर्नु पर्दछ । यद्यपि मोदीजीको आशन्न भ्रमणको महत्व र औचित्य स्पष्ट छैन, यसवारे बिभिन्न कोणबाट बहस हुनसक्दछ ।
नेपालका प्रधानमन्त्रि के पि ओलीले भारत भ्रमण गर्नु भएको एक महिना भित्र हुनलागेको यो उच्च स्तरिय भ्रमणको अर्थ र उपलब्धिका वारेमा छलफल हुने नै छ । अरुण तेस्रो जलबिद्युत आयोजनाको शिलान्यासका लागि काठमाण्डौबाट रिमोट थिच्न मात्र नरेन्द्र मोदीजी जस्तो हाईप्रोफाईल र व्यस्त अन्तर्राष्ट्रिय स्तरका नेता नेपाल आउनु भएको हो भन्नु भ्रमण कै अवमुल्यन हुनेछ । भारतीय प्रधानमन्त्रिको नेपाल भ्रमण सफल होस्– मेरो हार्दिक शुभकामना छ ।
नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्रिलाई जनकपुरमा भव्य र बिशाल नागरिक अभिनन्दन गरिने समाचार भने स्वभावतः मेरो मन मस्तिष्कमा बिझि रहेकोे छ । थुप्रै कमि कमजोरीका बावजुद सर्वाभौम नेपाली जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले विधिपुर्वक निर्माण गरेको संबिधानलाई स्वागत नगरेको र आफुले लगाएको आर्थिक नाकाबन्दी प्रति दुःख समेत प्रकट नगरेको अवस्थामा नरेन्द्र मोदीजीको नागरिक अभिनन्दन अस्वभािवक र अनाबश्यक छ ।
गत २०७२ असोज/कार्तिक देखि शुरु भएको करिव ५ महिने भारतीय आर्थिक नाकाबन्दीले नेपालको आर्थिक सामजिक क्षेत्रमा अकल्पनिय क्षति पुरायो । महाभूकम्पको पिडा सेलाउन नपाउंदै लगाईएको नाकाबन्दीबाट भूकम्पले भन्दा पनि बढि आर्थिक नोक्सानी नेपालीले व्योहर्नु परेको तथ्य सर्वविदित छ । दशैं, तिहार र छठ जस्ता पर्वहरुमा जनताले घरमा चुल्हो बाल्न पाएनन् । त्यो घटना अमानविय थियो र त्यसले पुराएको घाउ निको हुन समय लाग्छ । नाकाबन्दी भूपरिवेष्ठित राष्ट्र नेपालको नैसर्गिक अधिकार तथा अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन थियो । तत्कालिन अवस्थामा उपप्रधानमन्त्रि सहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी वहन गरेको नाताले नाकाबन्दीसंग गांसिएको उतार चढाव तथा क्रिया प्रतिक्रिया सम्बन्धमा मेरो आफ्नै अविस्मरणिय अनुभूती रहेको छ ।
जिनेभामा भएको संयुक्त राष्ट्र संघको एक सभामा भारतीय प्रतिनिधिले नेपालको संबिधान, मानव अधिकार स्थिति र मधेस आन्दोलनका वारेमा गरेका अतिरंजित नकरात्मक टिप्पणी अहिले पनि मेरो कानमा गुंजिरहेको छ । पटक पटकको भारत भ्रमणको क्रममा सुन्नु परेका दवावमुलक भनाईहरु बिर्सेको छैन । संबिधान अपूर्ण, असमावेशी र सर्वस्विकार्य छैन भनि वाशिंगटन देखि बेलायत र ब्रसेल्स सम्म भारतीय पक्षबाट एकोहोरो गरिएको प्रचार अभियान चिर्न कति कठिन थियो, त्यसवारे भविष्यमा अझ थप चर्चा हुने नै छ । नाकाबन्दी अन्त भएपछि तत्कालिन प्रधानमन्त्रि के पी ओलीको भारत भ्रमणका बेला संयुक्त बिज्ञप्ति प्रकशित हुन नसकेको तितो संझना पनि नेपाल भारत सम्बन्धको ईतिहासमा उल्लेखनिय रहने छ ।
नाकाबन्दी र संबिधानवारे भारतीय व्यवहारका भुक्तभोगी प्रधानमन्त्रि के पि ओलीले नागरिक अभिनन्दनलाई कसरि पुष्ठि गर्नु हुनेछ, त्यो मेरालागि जिज्ञासाको बिषय हो । निर्वाचन र सरकार निर्माणका वारेमा हाल आएर भारत सरकारले गरेको सकारात्मक टिप्पणी भने स्वागत योग्य छ । तर, नेपालको संबिधानका वारेमा भारतको नकरात्मक सोचाईमा सुधार र नाकाबन्दी प्रतिको दुःख प्रकटको भने सदैव अपेक्षा रहने छ ।
भारतीय प्रधानमन्त्रिलाई स्वागत र शुभकामना
पुर्व उपप्रधानमन्त्री कमल थापाको फेसबुकबाट