काठमाडौँ । केही दिनयता देखि भैरहवामा रहेका राजा ज्ञानेन्द्र शाहले आज त्यहाँ आयोजना हुने एक कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । उनलाई आज त्यहाँ नागरिक अभिनन्दन गर्ने तयारी भएको छ ।
आज साढे १२ बजे भैरहवाको सुगरमिल क्षेत्रमा पूर्वराजाको नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । केही दिनदेखि उनी पश्चिम नेपालको भ्रमणमै छन् । उनको धार्मिक तथा साँस्कृतिक भ्रमण भनिए पनि त्यतिमात्र नरहेको बुझाई भैरहवाबासीको छ ।
श्रीमती कोमल शाहसहित पुगेका राजा ज्ञानेन्द्र भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेका छन् । उनको आजको अभिनन्दनपछिको सम्बोधनमा के आउँछ भन्ने बारेमा त्यहाँका नागरिकमा मात्र नभएर राजनीतिक दलका नेताहरुमा पनि व्यापक मात्रामा चासो उब्जिएको छ । पछिल्ला केही समय नेपालमा राजतन्त्रप्रति नागरिकको चासो पनि बढ्दै गएको छ । नागरिकले वर्तमान सत्ताले महंगी, भ्रष्टाचार तथा नागरिकप्रति बेवास्ता मात्र दिएको भनेर निराशा व्यक्त गर्ने गरेका छन् । त्यसैले कैयौँ व्यक्ति र संस्थाहरुले अहिले बरु यो व्यवस्था भन्दा त राजतन्त्र नै ठिक भन्ने जस्ता अभिव्यक्ति पनि दिने गरेका छन् ।
यसकारण पनि आज राजाले गर्ने सम्बोधनका बारेमा देशव्यापी रुपमा चासो उब्जिएको बताइएको छ । पछिल्लो दिनमा राजाका यस्ता सार्वजनिक कार्यक्रमहरुमा नागरिकको संख्या बढ्दै जान थालेपछि राजनीतिक दलका नेताहरुले राजतन्त्रको चर्काे विरोध गर्न थालेका छन् । मुलुकमा नेपालमा राजतन्त्रको आगमन सम्भव छ या छैन भनेर बहस जारी रहेकै बेला राजा ज्ञानेन्द्र भने केही बोलेका छैनन् ।
उनी देश दौडाहामा भने ठाउँ ठाउँमा पुगेका छन् । त्यसैले भैरहवामा हुन लागेको नागरिक अभिनन्दनमा उनले सम्बोधन गर्ने कार्यक्रमको सबैतिर चसो देखिएको हो । उनले के घोषणा गर्दैछन् भन्ने चासो सबैमा देखिएको छ । उता हिजोमात्र राजा ज्ञानेन्द्रले राप्रपाका प्रमुख ५ नेताले पनि उनलाई भेटेका छन् । अध्यक्ष राजेन्द्र लिङदेनसहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा. धवलशमशेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंहले भैरहवा पुगेर राजासँग सामूहिक भेट गरेका हुन् ।
स्रोतका अनुसार राजाले निकै खुलस्त र आत्मीय भावमा प्रस्तुत भएका थिए । जनमत विस्तारै बदलिँदै गएकाले देशमा राजसंस्था फर्किनेमा उनी निकै आशावादी देखिएको स्रोतको भनाइ छ । राजा शाहले देशको दुरवस्थाप्रति चिन्ता प्रकट गर्दै यही व्यवस्थाबाट देश उँभो नलाग्नेमा राजा र राप्रपा नेताहरु एकमत देखिएको समाचार स्रोतले बतायो ।