काठमाडौं । वर्षायाम सकिन लाग्दा लगातार झरी परिरहेको छ । अत्यधिक वर्षाका कारण वर्षा मापन केन्द्र रहेका १४ स्थानमा चेतावनीको तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका मोरङ, झापा, उदयपुर र इलाम जिल्लामा राखिएका वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाको रेकर्ड भएको छ । मधेश प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पामा पनि अत्यधिक वर्षा भएको छ ।
सप्तरीका बरमझिया र रुपनी बजार तथा मोरङका हरैँचा, बाहुनी, विराटनगर विमानस्थलमा वर्षाले चेतावनीको तह पार गरेर खतराको तहसम्म पुगेको छ ।
झापाका शनिश्चरे, अनारमनी, केचना, गौरादह, चन्द्रगढी विमानस्थल, सिस्ने अर्जुनधारा, बाहुनडाँगीमा पनि वर्षा खतराको तहसम्म पुगेको छ ।२४ घण्टाको अवधिमा झापाको चन्द्रगढी विमानस्थलमा सबैभन्दा बढी २३२.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी केचनामा २१२, अनारमनी विर्तामा २०२, गौरादहमा १९७, बाहुनडाँगीमा १६७ र सिस्नेमा १४३ मिलिमिटर वर्षा भएको छ ।
झापापछि सबैभन्दा धेरै इलामको माईचुलीमा २३१ मिलिमिटर वर्षा भएको छ । उदयपुरको सुन्दरपुर र पाल्पाको अर्चलेमा पनि अत्यधिक वर्षाले खतराको संकेत गरेको छ ।
हाल देशभर अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ३ घण्टायता कोशी प्रदेशका थोरै स्थानहरूमा धरै भारी वर्षा मापन भएको छ ।
आगामी २४ घण्टाका लागि देशभर नै मनसुन सक्रिय रहने सम्भावना छ । मौसमविद गोविन्द झाका अनुसार देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना छ ।
ती क्षेत्रमा वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र डुबानको जोखिम छ । साथै ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्ने र कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा पनि आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । विशेषगरि पहाडी जिल्लाहरुमा निरन्तर वर्षा भइरहेको छ ।