काठमाडौं । बाढी पहिरोका कारण काठमाडौं उपत्यकाका सहित देशभरमा ३७ जनाको मृत्यु भइसकेको छ ।
लगातार दुई दिनदेखिको झरीले निम्त्याएको बाढी, पहिरो र डुवानले कयौं व्यक्तिहरु घाइते भएका छन् ।
सम्पुर्ण विवरण संकलनको कार्य भइरहेको प्रहरीले जनाएको छ । शनिबार साँझ ५ बजेसम्मको रेकर्ड अनुसार, ३७ जनाको मृत्यु, दर्जनौं घाइते, अधिकांश सडकहरु बन्द र धेरै घरहरुमा क्षति पुगेको अवस्था छ ।
काठमाडौं जिल्लाका विभिन्न ठाउँमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ५ जना गरी ३४ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी विनोद घिमिरेले बताए । उपत्यका प्रहरी प्रमुख रहेका घिमिरेको नेतृत्वमा डुवान क्षेत्रमा उद्धार भइरहेको छ । घिमिरे स्वंय घटनास्थलमा गएर उद्धार कार्यमा खटिएका छन् । उनको नेतृत्वले पीडितहरुलाई अस्पताल पुर्याउनेदेखि सुरक्षित स्थानमा लाने काम गरिरहेको छ ।
त्यसैगरी १७ जना घाइते भएका छन् । जसअनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना गरी १७ जना घाइते भएका हुन् ।
यी तीन जिल्लाबाट १ हजार ४१५ जनाको उद्धार गरिएको छ । १७ जना बेपत्ता छन् । १ हजार ९२४ घरहरु डुबानमा परेको एसएसपी घिमिरेले बताए ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा बेपत्ता भएका ६ जना बालकमध्ये ३ जनाको शव भेटिएको छ । शनिबार बिहान कुलेखानीको बाँध खोल्दा खोला बढेपछि सुरक्षित स्थानतर्फ लैजाँदै गर्दा ६ जना बेपत्ता भएका थिए ।
सिस्नेरी बजार नजिकैको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ४० जना बालकमध्ये ६ जना पहिरोमा परेर हराएका थिए । तीमध्ये तीन जनाको शव फेला परेको इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले पुष्टि गरे । उनीहरूको सनाखत हुन बाँकी छ ।
मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको छ । २५ किलोमिटर टाढा रहेको इलाका प्रहरी कार्यालय भीमफेदीबाट ९ जनाको टोली त्यसतर्फ जाँदैछ । भारी वर्षाका कारण उनीहरुलाई घटनास्थल पुग्न समय लागेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वर्षदेखि बत्सलादेवी माविमा फुटबल प्रशिक्षण सञ्चालन गरेको थियो ।
अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्धारका लागि मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन भएको छ ।
विपद्बाट हुने क्षति न्युनीकरण, नागरिकको जीउधनको रक्षा र विपदमा परेकाहरुको खोज तथा उद्धार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी परिचालन भएका छन् ।
पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजार भन्दा बढी नागरिकको सकुशल उद्धार भइरहँदा नेपाल प्रहरीबाट १० हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट १० हजार ५४० जना प्रहरी परिचालन भएका छन् ।
जसमध्ये काठमाण्डौ उपत्यकामा मात्रै नेपाल प्रहरीको ४ हजार ७६० र सशस्त्र प्रहरी बलबाट ३ हजार ५ सय सुरक्षाकर्मी उद्धारमा खटिएका छन् । त्यसैगरी नेपाली सेनाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चार जनाको हेलिकप्टरबाट उद्धार गरेको छ ।
सेनाको टोली देशभरको प्रभावित क्षेत्रमा परिचालन भएको छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले शनिबार दिउँसोसम्म १ हजार ५३ जनाको उद्धार गरिएको जानकारी दिए ।
यसअघि गृहमन्त्री रमेश लेखकले बाढी पहिरोमा अवरुद्ध सडक सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।
निरन्तरको वर्षापछि भरिएको कुलेखानी जलाशय ५ मिटर घटाएको छ । विद्युत् उत्पादन र बाँधका २ वटा ढोका खोलेर कुलेखानी जलाशय ५ मिटर घटाइएको हो । हाल कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५२७.६० मापन गरिएको छ ।
बिहान ५ बजेको समयमा कुलेखानी जलाशय भरिएर ओभर फ्लो भएको थियो । उक्त समयमा जलाशयमा पानीको सतह १ हजार ५३१ मिटर मापन गरिएको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए । उनका अनुसार १० घण्टामा ५ मिटर पानी घटाइएको छ ।
हाल जलाशयको बाँधको २ वटै ढोका खुल्ला गरिएको छ । बाँधका २ वटा ढोका २ मिटर खुल्ला गरेर पानीको सतह सन्तुलनमा राखिएको उनको भनाई छ । ३०० मिटर चौडाइ र ७ किलोमिटर लम्बाइको जलाशयमा समुद्री सतहबाट १ हजार ५३० मिटरसम्म पानी भण्डारणको क्षमता रहेको छ ।
शुक्रवार दिनभरको वर्षाले कुलेखानी भरिने चरणमा पुगेको थियो । शुक्रवार ५ बजेसम्ममा पानीको सतह १ हजार ५२५ मिटर मापन गरिएको कुलेखानीमा शनिवार बिहान जलाशय भरिएर ओभर फ्लो भएको थियो ।
‘अहिले कुलेखानीको जलसतह स्थिर रहेको छ । जलाधारबाट पानी सङ्कलन भएको अनुपातमा नै बाहिर पठाइएको छ । बाँधका ढोका २ मिटर खुल्ला गरिएको छ’ उनले भने, ‘कुलेखानीको जलाधार क्षेत्रमा पानी परिनै रहेकाले जलाशयमा पानीको सतह बढ्ने भएकाले ढोका खुल्ला नै गरिएको हो । वर्षा भइरहेकाले पनि जलाशयमा पानी थप जम्मा गर्ने अवस्था छैन ।’
कुलेखानीको जलसतह घटाउन ३ वटै विद्युत् उत्पादन केन्द्र पूर्ण क्षमतामा सञ्चालन गरिएको छ । जलाशयमा पानीको मात्र बढ्दै गएपछि शुक्रवार साँझबाट विद्युत् उत्पादन थालिएको थियो ।
आयोजना प्रमुख भट्टका अनुसार कुलेखानी जलाशयको पानीबाट पूर्ण क्षमतामा सञ्चालन गरिएको छ । कुलेखानी पहिलो ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन हुने उनले बताए । तीन वटै आयोजनाहरू पूर्ण क्षमतामा निरन्तर सञ्चालनमा रहेको उनले बताए ।
मुलुकमा मागभन्दा कम विद्युत् उत्पादन भएका बखत मात्र सो आयोजना सञ्चालन गरिन्छ । यसपटकको वर्षाका कारण बाँध भरिएर जोखिम बढेपछि विद्युत् उत्पादन नियमित गरिएको हो । ४ दिन अघि ७०० मेगावाट विद्युत् उत्पादन गरिएको कुलेखानीबाट जोखिम घटाउन कुलेखानी पहिलो आयोजना सञ्चालनमा ल्याएको उनले बताए । जलाशयमा सङ्कलन गरिएको पानीमध्ये ४६ मिटर मात्र विद्युत् उत्पादनमा प्रयोग हुन्छ ।
देशभर यतिबेला वर्षा भइरहेको छ । वर्षाका कारण विभिन्न नदीको जलसतह बढ्दो क्रममा रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार अपराह्न साढे ३ बजेको मापनअनुसार विभिन्न १४ स्थानमा नदीहरूको जलसतह खतराको तहभन्दा माथि रहेको छ ।
चितवनको देवघाटमा नारायणी नदीले जलसतह खतराको तह पार गरेको छ । यसले सो क्षेत्रमा डुबान भइरहेको छ ।
त्यस्तै, काठमाडौँको बालकुमारीमा मनहरा खोलाको जलसतह खतराको तहभन्दा माथि रहेको छ । भक्तपुरको कौशलटारमा हनुमन्ते खोला र ललितपुरको खोकनामा बागमती नदीको जलसतह खतराको तहभन्दा माथि रहेको छ ।
त्यस्तै, रौतहट, बारा, धनकुटा, भोजपुर, सिन्धुपाल्चोक, सुन्सरीलगायत क्षेत्रमा पनि नदीहरूको जलसतह खतराको तहभन्दा माथि छ ।
काठमाडौँलाई विद्युत् सप्लाई गर्ने मुख्य प्रसारण लाइन अवरुद्ध भएको छ । तामाकोशी नदीले खिम्ती–लामासाँघु प्रसारण लाइनको ७ नं टावर बगाएको हो।
यो १३२ केभीको प्रसारण लाइन हो । यसबाट विद्युत् आपूर्ति बन्द भएपछि काठमाडौं उपत्यका प्रभावित बनेको छ। यो लाइन नबन्दासम्म काठमाडौँलाई बिजुली अपुग हुनेछ। यसले गर्दा विभिन्न स्थानमा पालो गरेर आपूर्ति गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
त्यस्तै ढल्केबर–पथलैया प्रसारण लाइन पनि अवरुद्ध भएको छ। यसले गर्दा ढल्केबर पश्चिममा बिजुली आपूर्ति प्रभावित भएको छ।
अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सडक विभाग कार्यालयले आज दिउँसो १२ बजेसम्म सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएका छन् ।
प्रारम्भिक विवरणअनुसार २३ बाटोका ६३ स्थानमा अवरुद्ध भएका छन्भने काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका विभागको सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालले जानकारी दिए ।
“ठाउँठाउँमा बाटो अवरुद्ध भएकाले विभागका कर्मचारी सबै स्थानमा पुग्न सकेका छैनन् । विद्युत् तथा इन्टरनेट सम्पर्क विच्छेद हुँदा सबै विवरण सङ्कलन गर्न पनि सकिएको छैन । यो प्रारम्भिक विवरण मात्रै हो”, अर्यालले भने, “पाँचथरबाट ताप्लेजुङ जाने बाटोतर्फ हेवाखोलामा गत वर्ष राखिएको बेलिब्रिज बगाएको छ । अरनिको राजमार्गको लार्चा भन्ने स्थानको बेलिब्रिज र बिपी राजमार्गको खुर्कोटबाट मन्थलीतर्फ जाने बाटोको पुल बगाएको छ ।”
कुलेखानी जलविद्युत् आयोजनको जलाशय खोलिएकाले कान्ति लोकपथमा बागमती पुल उच्च जोखिममा परेको अर्यालले बताए । बिपी राजमार्गमा नेपालथोक भन्दा केही अगाडि रोशी खोलामा आएको बाढीले एक सय मिटर जति बाटो बगाएको छ ।
अहिले काठमाडौँ उपत्यका छिर्ने सबै बाटो बन्द अवस्थामा रहेको अर्यालले जानकारी दिए । धेरै नदीमा पानीको सतह निरन्तर बढिरहेकाले अधिकांश पुल जोखिमको अवस्थामा रहेका उनले बताए ।
सडक विभागका अनुसार त्रिभुवन राजपथ पूर्ण अवरुद्ध छ । सिर्सिया–पथलैया–हेटौँडा–भैँसे–पालुङ–नौबिसे–काठमाडौँ खण्डमा पनि पहिरोका कारण राजमार्ग बन्द भएको हो । त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गतको नौबिसे–मुग्लिन–पोखरा राजमार्ग अवरुद्ध छ । धादिङको कमेरे भन्ने स्थानमा पहिरो गएपछि उक्त सडक अवरुद्ध भएको हो ।
अरनिको राजमार्गअन्तर्गत काठमाडौँ–धुलीखेल–दोलालघाट–खाडीचौर–कोदारी राजमार्ग पनि अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लार्चा पुल बगाएपछि यातायात सञ्जाल पूर्ण विच्छेद भएको विभागको सम्भार महाशाखा प्रमुख अर्यालले जानकारी दिए ।
त्यसैगरी, कालीगण्डकी करिडोरअन्तर्गत तानसेन–रिडी–कोरला सडकमा पर्वतको केराबारी भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत गुल्मीको राक्स्या र बरल्ला क्षेत्रमा पनि पहिरो खसेको छ ।
राप्ती राजमार्गअन्तर्गत अमेलिया–शीतलपाटी–थारमारे मुसिकोट खण्डअन्तर्गत सल्यानको राम्री भन्ने स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गतको बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा सडक अवरुद्ध छ ।
पुष्पलाल (मध्यपहाडि राजमार्ग) अन्तर्गत ओखलढुङ्गाको भडारे क्षेत्रमा पहिरो जाँदा सवारी साधन सञ्चालनमा अवरोध सिर्जना भएको छभने भेडेटार–रबि–राँके सडकअन्तर्गत पाँचथर जिल्लामा सडक अवरुद्ध छ ।
सडक डिभिजन नुवाकोटअन्तर्गत ठोरी–भण्ठारा–मलेखु–गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्याफ्रुबेसी खण्डअन्तर्गत घादिङको भुट्टार क्षेत्रमा तथा बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी खण्डअन्तर्गत नुवाकोटको ३५ किलो र ताँदी पुलमा आएको बाढीका कारण सडक अवरुद्ध भएको विभागले जनाएको छ ।
भेरी करिडोरअन्तर्गत छिन्चु–कुदु–जाजरकोट–दुनै–तिन्जे–मरिम सडकखण्डमा पश्चिम रुकुमको त्रिवेणी भन्ने स्थानमा सडकमा पहिरो खसेको छ । यो सडकखण्डअन्तर्गत जाजरकोट जिल्लाको नमूना बस्ती क्षेत्रमा पनि बाढी र पहिरोका कारण समस्या देखिएको विभागले जनाएको छ ।
मेची राजमार्गअन्तर्गत केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम–गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोला खण्डमा पाँचथरको फिदिम नजिकै पहिरोका कारण सडक अवरुद्ध भएको छ । त्यस्तै माडर–चौराहवा–गोलबजार–सिरहा–साँघुरे–उदयपुर–मिचैया–कटारी–घुर्मी–हिलेपानी–ओखलढुङ्गा सल्लेरी सडकखण्ड प्रभावित बनेको छ । मिर्चैया–कटारी–घुर्मी–हिलेपानी–ओखलढुङ्गा–सल्लेरी सडकमा पनि सवारीसाधन सञ्चालन हुने सकेका छैनन् ।
सहिद मार्गअन्तर्गत कोइलाबास–लमही–अर्जुनखोला–घोराही–घर्तिगाउँ–थवाङ–लुकुम खण्ड, रोल्पाको घर्तीगाउँ र दुई खोली खण्डको गरगरे भन्ने ठाउँमा पहिरो गएको छ । यो राजमार्गमा रोल्पाको होलेरी र दारबोट खण्डमा पनि अवरोध सिर्जना भएको छ । अर्घाखाँचीको लौलिहवा–गोरुसिङ्गे–सन्धिखर्क सडकअन्तर्गत नरपानी–खुम्ती–सन्धिखर्कमा पहिरो गएको सडक विभागले जनाएको छ ।
त्यसैगरी, पुष्पलाल राजमार्गअन्तर्गत खोटाङको खोक्सेली तथा चिसापानी, सिन्धुलीको रिठ्ठाबोट, फिक्कल, ट्याँउ खोला र कुखुरेटार, हर्जेनी, बलेनी, सालघारीलगायत क्षेत्रमा बाढी र डुबानको समस्या देखिएको छ ।
तमोर करिडोरअन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडकको चतरा पुलदेखि बराह क्षेत्रसम्म जाने बाटोमा तथा रिडी–बालकोट–हंसपुर–प्युठान–सुर्खेत खण्डअन्तर्गत दाङको मुर्कुटी भन्ने स्टानमा सडक पूर्ण रुपमा अवरुद्ध छ । डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको ताल डाँडा क्षेत्रमा पनि यातायात सञ्चालनमा समस्या भएको छ ।
कान्ती राजपथअन्तर्गत हेटौँडा–बागमती–टिकाभैरव–भैँसेपाटी–एकान्तकुना सडकखण्ड पनि अवरुद्ध छ । यो राजमार्गको आँपचौर भन्ने स्थानमा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
ग्वार्को–लुभु–लाकुरीभञ्ज्याङ–कुशादेवी–पनौती–दाहालटार खण्डअन्तर्गत ललितपुरको लाँकुरीभञ्ज्याङस्थित मानेदोभान क्षेत्रमा बाढी र पहिरोका कारण समस्या सिर्जना भएको छ । दक्षिणकाली नगरपालिका–८ को सिस्नेरी सडकखण्ड, किर्तीपुर नगरपालिका–६ को बल्खु फर्पिङ र वडा नं १० को त्रिभुवन विश्वविद्यालय सेवा आयोग अगाडि पहिरो खसेका छ । गोदावरी नगरपालिका–६ को लेले टिकाभैरव जाने बाटोमा पहिरो खसेको छ ।
नदीमा पुल बगाएको र ठूलो पहिरो खसेको स्थानमा बाहेक अन्य स्थानहरुमा कम्तीमा दुई घण्टाभित्र अवरोध हटाउने गरी विभागको टोली परिचालन गरिएको विभागको सम्भार महाशाखा प्रमुख अर्यालले जानकारी दिए । सडक सञ्चालन गर्न शवभिन्न सडक डिभिजन तथा मातहतका कार्यालयका टोली तयारी अवस्थामा रहेका उनले बताए ।
“बाटो र पुल बगाएको स्थानमा बाहेक ठूलो पहिरो नभएका ठाउँमा बढीमा दुई घण्टाभित्रमा सडक खुलाउन सक्नेगरी तयारी अवस्थामा बसेका छौँ । निरन्तर पानी परिरहेको छ । अधिकांश स्थानमा लेदोसहितको बाढीपहिरो आउने जोखिम रहेकाले पहिरो पन्छाएर सडक सञ्चालनमा केही समस्या भएको छ”, अर्यालले भने ।
(समाचार स्रोतः रासस लगायत एजेन्सी)